यो सरकार आफ्नो आयु आफै छोट्याउदै छ – पुष्पकमल दाहाल “प्रचण्ड”

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको र आफ्नो आयु आफैं छोट्याउदै गएको टिप्पणी गरेका छन् ।
उनले सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको बताए । विपक्षी दलहरूको तर्फबाट सदनको बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी गराए ।
उनले भने, ‘यो सरकार निरीह, कमजोर र गैरजिम्मेवार हो । हामी सदनबाटै लोकतान्त्रिक तरिकाले विधेयकहरु अघि बढोस् भन्ने चाहन्छौं। सदन बोलाउन हामी विपक्षीहरुले ज्ञापनपत्र पनि बुझाइसकेका छौं ।’
उनले सत्ता साझेदारकांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे ।
उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन । तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन । घटनाक्रम तपाईंहरूले देखिराख्नुभएको छ । कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन । हामी गम्भीर रूपमा हेरिरहेका छौं । सरकार आफैंले पनि आयु छोड्याइरहेको छ ।’

LEAVE A REPLY