हरेक उपभोग्य वस्तुको परनिर्भरतामा बानी परेको सरकार आफ्ना जनताले स्वदेशमै उत्पादन गरेका दैनिक उपभोग्य वस्तुलाई छाँयामा पारिरहेको छ । आफ्नो देशमा उत्पादित वस्तुको मात्रा र गुणस्तर बढाउँदै, त्यसैमा आत्मनिर्भर गराउँदै र नपुगमा मात्रै आयात गर्नुपर्नेमा त्यसो गरिरहेको छैन । विभिन्न कमिसनको लोभमा परेर स्वदेशी उत्पादनलाई छाँयामा पार्ने काम भईरहेको छ । जो विडम्वनापूर्ण छ ।
केही उदाहरणका लागि धान, सुन्तला, माछामासु लगायतलाई लिन सकिन्छ । यतिबेला आफ्नै देशमा उत्पादित सुन्लाले राम्रो मूल्य पाउन र खपत गराउन नसकिरहेको बेलामा, भारतबाट हरिया र फोस्रा सुन्तला आयातमा कमि आएको छैन । जसले आफ्नै देशका पाकेका र रसिला सुन्तलाले बजार नपाएर गाउँगाउँमा कुहि रहेका छन् । त्यस्तै, तराईका विभिन्न जिल्लामा यो पटक धान उत्पादन बढेको छ । ती धानले पनि सबै ठाउँमा न्यूनतम ९समर्थन० मूल्य पनि पाएको छैन । सरकारले किसानको हितका लागि भनेर समर्थन मूल्य तोके पनि किसानको घर खेतमै गएर नदिएपछि किसानहरु विचौलियालाई सस्तोमा धान बेच्न बाध्य हुन्छन् । विचौलियाले पनि ताजा चामल धान विदेश निर्यात गर्ने र गुणस्तरहिन धान चामल आयात गरेर त्यसैलाई महँगोमा विक्रि गर्दछन् । जसले गर्दा किनेर खाने उपभोक्ता समेत मारमा पर्ने गरेका छन् । महँगोमा किनेर पनि स्वादिलो भात खान नपाएको धेरै उपभोक्ताको गुनासो छ । यो वर्ष नेपालमा विगतका वर्षहरुमाभन्दा सर्वाधिक धेरै धान फलेको रेकर्ड एक तथ्यांकले देखाएको छ । तथ्यांकका अनुसार २०८०÷०८१ मा नेपालमा ५७ लाख, २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको छ भने २०८१÷०८२ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धान फलेको छ । तर पनि विचौलियाकै कारण गुणस्तरहिन चामल चर्को मूल्यमा नै किनिरहनु परेको अवस्था छ । उत्पादन बढ्दा केही सस्तो मूल्यमा स्वदेशी चामल नै खान नपाएको उपभोक्ताको गुनासो छ । सरकारले तराईका केही जिल्लामा मात्रै कृषिबालीको समर्थन मूल्य नतोकेर समग्र देशभरी नै मूल्य तोक्ने र स्वदेशकै उत्पादनलाई बजारीकरण गर्ने काममा विशेष ध्यान दिन र अपुगमा मात्रै आयात गर्ने तर्फ ध्यान दिनुपर्दछ । सरकारका निष्क्रियताका कारण किसानले मिहिनेतको फल नपाउने र बिचौलिया मोटाउने काम भइरहेको छ । त्यस्तै, नेपालकै ताल–पोखरी र खोला नालामा माछा पाइरहेका छन् तर पनि भारतबाट ट्रकका ट्रक माछाहरु, आयात भइरहेका छन्, त्यो पनि माछा नकुहिने रसायन हालेर त्यस्ता रसायन हालेका माछा सेवन गर्दा नपुङ्सकता बढी यौन इच्छामा कमी आउने गरेको जनगुनासो त्यतिकै आइरहेका छन् । त्यस्तै घ्यू, तेल पनि अधिकांश भारतबाटै ल्याइन्छ । ताप्लेजुङ, खोटाङ, सोलुखुम्बु, इलाम लगायतका क्षेत्रमा अर्गानिक घ्यू र दूग्ध पदार्थले राम्रो बजार नपाएको त्यहाँको किसानको गुनासो छ ।
त्यसैले अब, स्वदेशकै उत्पादन संकलन र विक्रिवितरण गरेर परर्निभरता घटाउँदै लग्न ढिला भैसकेको छ ।