नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबालेन राजधानीका हल्लाउदा नहल्लीने खम्बारुपी २ व्यक्तित्व हुन् । कुलमान घिसिङ नेपाल सरकारका कर्मचारी हुन् भने, मेयर बालेन्द्र शाह स्वतन्त्र जनप्रतिनिधि हुन् । दुवै व्यक्तित्वको आआफ्नै भूमिका छ । कुलमानले देशमा दैनिक १८ घण्टा भएको लोडसेडिङको अन्त्य गरी प्राधिकरणलाई नाफामा लगेका छन् भने मेयर बालेन्द्र शाहले काठमाडौंको मुहार फेरिरहेका छन् । यस अर्थमा दुवै व्यक्ति देशका होनहार व्यक्तित्व र नहल्लीने खम्बा हुन् ।
कार्यकारी निर्देशक घिसिङलाई पछिल्लो समय सरकारले कमि कमजोरी र प्रवृत्तिलाई खोतलेर पदबाट हटाउने प्रयास गरिरहेको छ । हटाउनकै लागि गत आर्थिक वर्षको अन्त्यसम्ममा बुझाउनुपर्ने प्रगति विवरण हालसम्म नबुझाएको आधारको बहाना पारी प्रगति विवरण नबुझाएको आरोप लगाएको छ । कुलमानले आफुलाई सोधेको स्पष्टिकरणको जवाफ दिने क्रममा स्वमूल्यांकन विवरण पेश गरी ९८.९९ अंक प्राप्त गर्नुभएको छ । उहाँले गरेका काम, भएका प्रगति, प्राधिकरणमा भएका सुधार लगायतलार्य लिएर स्वमूल्यांकनमा उक्त अंक दिनुभएको हो । यसमा कुनै खोट लगाउने ठाउँ देखिदैन । तर पनि सरकार पदबाट हटाउने बाटो खोजिरहेको छ । आम उपभोक्ताको कुलमानलाई पदबाट हटाउन नहुने मनसाय र प्राधिकरणमा गरेका सुधारलाई आधार बनाएर कुलमान कति पनि नहल्लिकन९पद जाने डरमा नपरीकन० ढुक्कसँग आफ्नो कर्ममा व्यस्त छन् ।
वर्षायाममा पानीको बहाव बढ्दा विद्युत् उत्पादन गर्ने उपकरणको क्षमता नै नभएर र हिउद याममा पानीको बहाव कम भएर विद्युत उत्पादन गर्ने शक्तिमै कमी भएको हुँदा विद्युत अभाव भई १८ घण्टासम्म लोडसेडिङ गर्नु परेको भनेर उपभोक्तालाई झुक्याउँदै आइएको थियो । जसले उपभोक्ताले नराम्रोसँग बत्तीको मार खेप्नु परेको थियो । यस्तो अवस्थामा जब कुलमानलाई नेपाल विद्युत् प्राधीकरणको कार्यकारी निर्देशक बनाइयो तब, लोडसेडिङ स्वात्तै घटेर २४ सै घण्टा बत्ती बल्ने वातावरण बन्यो । यसपछि आम उपभोक्ताले बल्ल थाहा पाएकी जल माफियाको षड्यन्त्र र विद्युत माफियाको षड्यन्त्रले लोडसेडिङ भएको रहेछ भनेर ।
अहिले कुलमान घिसिङलाई हटाउने प्रपञ्च पनि यिनै माफियाहरुले गरिरहेका त छैनन् ? भन्ने तर्क वितर्क उब्जिईरहेका छन् । हुन सक्छ सुधारका क्रममा कुनै कमजोरी भए होला तर धेरै राम्रा काम गर्ने व्यक्तिलाई सानातिना कमजोरीको बहानामा पदच्युत गर्नु त्यति ठीक होइन की? राम्रा काम गरेर लोकमा प्रिय भइसकेका व्यक्तिलाई हटाउन खोज्नु भनेको आफै अलोकप्रिय हुनु हो भन्ने कुरा सरकारको नेतृत्वले बुझ्नु राम्रो हुन्छ ।
त्यस्तै काठमाडों महानगर प्रमुख बालेन्द्र शाहलाई पनि सरकारका मान्छेहरुले हटाउने वा कारवाही गर्न खोजिरहेका छन् । महानगर सुधारका क्रममा कुनै बेला नगरप्रमुख र प्रधानमन्त्रीबीच पनि विवाद हुने गरेका छन् । तर जायज कामका अगाडि सरकारले बालेन्द्र शाहलाई छुन सकेको छैन । उनी पनि आत्माविश्वासका साथ आफ्नो कर्ममा लागिरहेका छन् । कसैले धाकधम्की दिए त्यसको प्रतिकार गरी खम्बाझैं अटल भएका देखिन्छन् । उनी स्वतन्त्र मेयर भएका कारण उनलाई कुनै दल र दल नेतृत्वको सरकारले हल्लाउन सकेको छैन ।
बालेन्द्र शाह नगरप्रमुख हुनुअघि कुनै दल निकटका नगरप्रमुख हुन्थे । उनीहरुले सम्बन्धित दल नेतृत्वको सरकारको दबाबमा परेर उल्लेखनीय काम गर्न सक्दैन थिए । तर अहिले बालेन्द्रलाई कसैको दबाब छैन । स्वतन्त्र रुपमा नगरको शोभा बढाउने काम गरिरहेका छन् । गर्दा खेरी नहुने काम के रहेछ र ? भन्ने भन्ने प्रश्नको उत्तर पनि कार्यव्यबहारले देखाइ रहेका छन् । अहिले, कुलमान घिसिङ, बालेन्द्र शाह, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सन्दुक रुइतले आफ्नो कामको उच्च सम्मान पाइरहेका छन् । मुलुकलाई यस्ता धेरै व्यक्तिको खाँचो परिरहेको महसुस भएको छ ।