नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले नेपालको राजनीतिमा थुप्रै विकृति एवं विसंगति देखा परेको बताए । केही दिन अघि एक कार्यक्रममा बोल्दै नेपालले भने– ‘मुलुक चलाउनु पर्ने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका भनिएका मानिसहरु छन् । तर, जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिष्ट भनेर मात्र पनि हुँदो रहेनछ ।’ गुर्भाचोभ र यत्सिन कम्युनिष्ट भए पनि उनीहरु कम्युनिष्टहरु सिध्याएको उदाहरण दिनुभएका अध्यक्ष नेपालले कम्युनिष्टका नाममा गैर कम्युनिष्ट काम भइरहेको टिप्पणी गर्दै भने– ‘कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम गर्नु भएन । कम्युनिष्टको नाममा कम्युनिष्टको मर्यादा राख्नुपर्छ । त्याग, तपस्या, बलिदानको कीर्तिमान कायम राख्नु पर्छ ।’ राजनीति गर्नेहरुले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवापुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाई थियो ।