काठमाडौं । उपत्यका बाहिरबाट काठमाडौं भित्रिने तरकारी खाँदा मानव स्वास्थ्यमा बाधा पर्न थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका तरकारीमा विषादी परिक्षण गरी रहेको छ । विभागले प्रयोशाला सहितको मोबाइल ल्याब भ्यान कालीमाटी बजार परिसरमै लगेर रातारात भित्रिने तरकारीमा विषादी परिक्षण गरिरहेको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिनुभयो ।
खाद्यको टोलीले २२ प्रकारका तरकारी र फलफूलका १५ वटा नमूना परिक्षण गरेको जनाएको छ । तरकारी तथा फलफूलमा ‘इन्जाइम इन्हिविसन’ विषादीको मात्रा ३५ प्रतिशतसम्म प्रयोग भएको पाइए मापदण्ड भित्रै रहेको मानिने र सोभन्दा माथि ४५ प्रतिशत सो विषादी पाइए केही दिन भण्डारण गरेर मात्र प्रयोग गर्न पाइने व्यवस्था विभागले मिलाएको छ ।
विभागले अघिल्लो मंगलबार उपत्यका भित्रिएका तरकारी परिक्षण गर्दा चितवनबाट ल्याइएका एक सय १४ किलो हरियो सिमिमा ४२ प्रतिशत सो विषादी भेटिएकाले ३ दिनसम्म क्वारेन्टाइनमा राख्न निर्देशन दिएको महानिर्देशक सञ्जीव कर्णले जानकारी दिनुभयो । विभागले समय समयमा तरकारीको विषादी प्रयोग गर्ने गरेको र अन्य खाद्य वस्तुको पनि गुण सक्रिय रुपमा गरिरहेको महानिर्देशकको भनाइ छ ।







