सरकारबारे कांग्रेसमा फरक–फरक धार

काठमाडौं । वर्तमान गठबन्धन सरकार गठन भएको ६ महिना पुग्नै लाग्दा सरकारमा सहभागी कांग्रेस भित्र सरकार बारे दुई धार देखिएको छ । विशेष गरी कांग्रेस भित्र संस्थापन पक्ष बचाउमा लागे पनि संस्थापन इतरमा सरकारप्रति तीव्र असन्तुष्टी देखिएको छ । सरकारले सदन छलेर ल्याएको अध्यादेश मात्र होइन, आफै सहभागी भएको सरकारको कार्यशैलीप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको हो । सभापति शेरबहादुर देउवा निकट नेताहरु सरकारको बचाउमा उत्रिदा इतर समूह भने विपक्षमा उभिएको छ । कांग्रेस भित्र अध्यादेश प्रकरणले थप असन्तुष्टि बढाएको हो ।
कांग्रेसका एक नेताले भने– ‘देउवालाई फेरि प्रधानमन्त्री बनौला भन्ने लोभ छ, त्यसैले सरकारले जस्तो काम गरे पनि देउवा बचाउमा छन् ।’
नेपाली कांग्रेसका संस्थापन इतरका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारले बद्नियत राखेर अध्यादेश ल्याएको आरोप लगाएका छन् । सरकारले ल्याएको अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थापन गर्ने व्यवस्था गरेको टिप्पणी गर्दे नेता केसीले भने– ‘सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको छ, तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था संसदलाई पन्छ्याउन ठीक होइन । राष्ट्रिय महत्वको कुरामा अध्यादेश ल्याउने हो तर सामान्य इस्युमा पनि अध्यादेश ल्याउने ठीक होइन । सरकार मात्रै होइन सरकारले प्रत्यायोजित गरेको विशिष्ट श्रेणीको कर्मचारीले प्रयोग गरेको पनि नीतिगत निर्णय हुने र अख्तियारबाट वञ्चित हुने भनी नीगित भ्रष्टाचारलाई संस्थागत गर्नका लागि अध्यादेश ल्याइएको छ ।’
सत्तारुढ दल नेपाली कांग्रेसका शक्तिशाली नेता शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको टिप्पणी गरेका छन् । केही दिन अघि कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै डा। कोइरालाले भने– ‘अध्यादेश के हो के संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने हो । कांग्रेस–एमालेको बहुमत छ । बहुमतले पास गर्ने हो नि, ऐन बनाउन दुई तिहाई त चाहिदैन ।’ उनले थपे– ‘अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । छ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’ संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले भने– ‘दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्छ ।’
यसरी हेर्दा कांग्रेसको शेखर समूह कुनै पनि बेला सरकारविरुद्ध उत्रने संकेत मिलेको छ । तर केही समय भने पर्खनै पर्ने देखिएको छ ।

LEAVE A REPLY