भक्तपुर, डिभिजन सडक भक्तपुरका प्रमुख योगेश सुमनले विपि राजमार्ग अत्यन्त महत्वपूर्ण भएकोले यसको पुर्ननिर्माणमा ढिलो गर्न नहुने बताएका छन् । गत असोजको दोस्रो साता आएको बाढीले सो राजमार्ग क्षतविक्षत पारेपछि सरकारले फास्टट्रयाकबाट सडक पुर्ननिर्माण गर्न लागेको र त्यसका लागि आठ अर्ब ५० करोड रुपैया स्रोत सुनिश्चित गरेको उहाँको भनाई छ । उहाँले धेरै क्षति भएका स्थानमा नयाँ प्रविधि अपनाएर टिकाउ पुर्ननिर्माण गर्ने योजना छ । अर्थ मन्त्रालयबाट स्रोत समेत सुनिश्चित भइसकेकोले अब छिट्टै प्रक्रिया बढाइने उहाँको भनाइ छ । बाढीले क्षतिग्रस्त भएका क्षेत्रहरु पहिचान गरी पुर्ननिर्माणको विस्तृत कार्ययोजना तयार गरिएको पनि उहाले जानकारी दिनुभयो । सडक विभागले असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले १३ किमि सडकमा क्षति पुर्याएको र त्यसमध्ये ८.५ किमि सडक पुरै क्षति पुर्याएकोले साढे ९ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुसन्धानले देखाएको भए पनि सरकारले तत्काल साढे आठ अर्ब मात्र छुट्याएको छ । त्यस बजेटमध्ये राजमार्गको भक्तपुर–नेपालथोक खण्डलाई ७ अर्ब ५० करोड र खुर्काेट खण्डलाई एक अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए । त्यस्तै महत्वपूर्ण रुपमा रहेको विपी राजमार्ग पुर्ननिर्माणलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउन लागिएको सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले बताउनुभयो । अर्यालका अनुसार हाल पानीको बहाव घटेको बेला खोलाबाटै गाडी आवतजावत गराइए पनि वर्षातको समयमा वैकल्पिक अस्थायी संरचना बनाई यातायात सञ्चालन गर्ने उद्देश्य भएको बताउनुभयो । त्यहाँका स्थानीय जनताले भने समयमै काम सम्पन्न नभएर पुनः समस्या आइपर्ने चिन्ता व्यक्त गरेका छन् ।