काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला चर्चामा हुनुहुन्छ । उहाँले प्रजातन्त्र दिवसका अवसरमा दिनुभएको सन्देशका कारण हो । हुन त उहाँले यसअघि पनि विभिन्न अवसरमा यस्ता सन्देश दिँदै आउनुभएको थियो । यस पटक भने पूर्वराजा शाहले अलि खुलेरै सन्देश सार्वजनिक गर्नुभएको हो । प्रजातन्त्र दिवसको पूर्वा सन्ध्यामा उहाँले सार्वजनिक गर्नुभएको सन्देशले यति बेला राजनीतिक वृत्त तताएको छ । सन्देशमार्फत आफु पुनः सक्रिय बन्ने संकेत दिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको हो । शाहले पहिलो पटक देशको रक्षा, प्रगति र समृद्धिका लागि आफुलाई साथ दिन आह्वान गर्नुभएको छ ।
‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतीका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।’ शाहले सन्देशमा भन्नुभएको छ ।
पूर्वराजा शाहको सन्देशले राजावादी शक्ति जुन राजसंस्थाको पक्षमा संगठित भइरहेका शक्ति उत्साहित भएका छन् भने परिवर्तनका पक्षमा रहेकाहरुलाई चिन्तित पारेको पाइएको छ ।
राप्रपाका वरिष्ठ नेता प्रकाचन्द्र लोहनीले पूर्वराजा शाहको सन्देशलाई पहिलो साहसिलो सम्बोधन बताउनु भएको छ । लोहनीले पार्टीले कार्य सम्पादन समितिको बैठक डाक्नु पर्ने र यस विषयमा छलफल हुनुपर्ने बताउनुभयो । ‘राजा ज्ञानेन्द्रबाट राष्ट्रिय प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ । यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रविन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले बैठक डाक्नु जरुरी भएको छ ।’ उहाँले भन्नुभयो ।
यता शाहको सन्देशलाई दलहरुले अस्वभाविक रुपमा लिएका छन् । नेकपा९एमाले०का महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन मास्न पूर्व राजालाई उचाल्ने काम भइरहेको टिप्पणी गर्नुभएको छ । एक कार्यक्रमलाई सम्बोधन गर्दे एमाले महासचिव पोखरेलले २०६२÷०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोली फेरि पश्चगामीहरु सलबलाउन थालेको बताउनुभयो ।
केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको महासचिव पोखरेलको टिप्पणी थियो ।
त्यसैगरी राप्रपाका महामन्त्री डा।धवल समशेर राणाले देशलार्य संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गर्नुभयो । देशलाई गम्भीर संकटबाट निकाल्न सबै पार्टी, समुह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले आग्रह गर्नुभएको छ ।