केवलकार निर्माणः विवाद होइन, वार्ताबाट गरौं

सम्पादकीय

ताप्लेजुङमा रहेको पाथीभरा देवीको मन्दिर परिसरमा केवुलकार निर्माणको विषयलाई लिएर विगत ५ महिनादेखि हालसम्म विरोध र चर्चाको उत्कर्षमा छ । सरकार जसरी पनि केवलकार निर्माण गर्ने पक्षमा छ भने, त्यहाँका स्थानीय आफ्ना माग पुरा नगरी कुनै पनि हालतमा केवलकार निर्माण गर्न नदिने पक्षमा छन् । सरकार र स्थानीय बिचको झगडाले केवलकार निर्माण गर्न सहज भइरहेको छैन । ‘साढेको जुधाई, बाच्छाको मिचाई’ भन्ने उखान जस्तो भएको छ पाथीभरा केवलकार निर्माणको अवस्था । सरकार र स्थानीयको विवादले देशका विभिन्न भागबाट पाथीभरा दर्शन गर्न आउने भक्तजनहरुलाई पाथीभरा दर्शन गर्न केवलकारमार्फत जान ढिलो भइरहेको छ । त्यसकारण सरकारतर्फको बल मिच्याई र स्थानीयको मागका बारेमा घनिभूत छलफल गरी एउटा निचोड निकालेर समस्याको निकास निकाल्न ढिलो भईसकेको छ । निकासका लागि सम्भव हुने र पुरा गर्न सक्ने मात्र माग स्थानीयले केवलकार विरोधीले राख्ने र सरकारले पनि त्यस्ता मागलाई सम्बोधन गर्नेतर्फ लाग्नु पर्दछ । अहिले नो केवलकार पक्षले सरकारले बलजफ्ती केवलकार निर्माण गर्न लागेको आरोप लगाएका छन् । स्थानीय अर्थात केवलकार विरोधी र सरकारबिचको द्वन्दले ‘तिलको दानालाई, पहाड बनाउन’ लागिएको होकी जस्तो देखिन्छ । त्यसैले यसतपर्m नलाग्नु नै बुद्धिमानी ठहरिन्छ । स्थानीय लिम्बूहरु पाथीभरामाता अर्थात मुकुम्लुङमा आफ्नो जाति विशेषको देवीको स्थानलाई केवलकार बनाएर अतिक्रमण गर्न खोजिएको भन्दै विरोध गर्न खोजेको हो भने त्यो भनाइलाई अहिलेको प्रविधिले सहि मान्दैन । जमाना कहाँबाट कहाँ पुगिसक्यो, अब पुरानै संकीर्णतामा अल्झिनु समय सापेक्षता होइन । केवलकार निर्माण गरी रोगी, वृद्धवृद्धा, केटाकेटी, अपाङ्गता भएका व्यक्ति लगायत सबैलाई दर्शन गर्न सहजता अपनाउनु पर्दछ । यस्ता व्यक्तिहरु पाथीभराको दर्शन गर्नबाट बञ्चित भइरहेका छन् । केवलकार निर्माणले थोरैलाई बाध गरे पनि धेरैलाई फाइदा पुर्याउदछ । करिब ३ हजार मिटर माथिको उचाइमा जाँदा चिसो हुने, लेक लाग्ने जस्ता समस्या स्वास्थ्य कमजोर हुनेहरुमा आईपर्दछ । यस्ता समस्याको समाधान केवलकार सञ्चालनले गर्न सक्दछ । केवलकार सञ्चालन पदमार्गमा व्यवसाय गरेर बस्नेलाई केही आर्थिक असर पर्छ भन्दैमा लाखौंलाख जनतालाई असर पर्ने काम गर्नुहुँदैन । नेपाल परापूर्वकालदेखि नै विभिन्न जातजाति तथा सम्प्रदायी बसोबास गर्दै आएको साझा भूमि हो । साझा भएकै कारण यहाँका देवीदेवता र मठमन्दीर पनि साझा भएका छन् । त्यसमध्येकै पाथीभराको मन्दिर पनि परेको छ । त्यसैले सरल र सहज वातावरणका रुपमा चलिआएको एक मात्र विकल्प केवलकार हो । यसलाई निर्माण गर्न कसैले विरोध र विरोधको बहानामा राजनीति नगरौं । छिटो वार्ता गरी केवलकार निर्माणमा सहयोग गरौं । यसैमा सबैको हित हुनेछ ।

LEAVE A REPLY