काठमाडौँ , आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयमा २५ वटा केन्द्रीय सङ्गठन प्रतिस्पर्धामा भाग लिनका लागि दर्ता भएका छन्।
स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएको जानकारी दिए।
उनले ३ क्याम्पस नेपाल ल क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस र जनकपुरको रारा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस मा मङ्गलबार सङ्गठन तथा समूह दर्ता भएको जानकारी दिए। स्ववियु निर्वाचनमा सङ्घ, सङ्गठनका साथै समूह पनि दर्ता गर्न सकिने व्यवस्था रहेको उनले बताए।
त्रिविमा अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी वैद्य समूह, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी विप्लव, समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल छैठौँ मसाल, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी सङ्घ, अनेरास्ववियु पाँचौँ विद्यार्थी जनमत सङ्घ, नेपाल विद्यार्थी मोर्चा दर्ता भएका छन्।
यसैगरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी बहुमत राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी सङ्घ नेपाली जनता पार्टी, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी मञ्च पनि चुनावका लागि दर्ता भएका छन्।
अधिकारीका अनुसार सबैभन्दा धेरै ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा ३४ वटा सङ्घ, सङ्गठन तथा समूह दर्ता भएका छन्। त्रिविका ६४ मध्ये डोटी र दाङमा बाहेक ६२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ।