काठमाडौं , असोजको १२ गते आएको बाढीले क्षत विक्षत भएको बीपी राजमार्ग स्थायी रूपमा निर्माणका लागि साढे आठ अर्व लाग्ने अनुमान गरी ठेक्का आह्वान समेत भएको छ।
सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भएसँगै सडक डिभिजन कार्यालय भक्तपुरले आज ठेक्का आह्वान गरेको हो।
अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि गत फागुन ६ गते स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो।
ठेक्का सम्झौतापछि बाढीले क्षति गरेको भकुन्डेबेंसीदेखि नेपाल थोकसम्मको करिब २८ किलो मिटर सडक खण्डको स्थायी रूपमा निर्माण गरिनेछ। जसमा सिन्धुलीतर्फ साढे २ किलोमिटर पर्नेछ भने बाँकी सबै काभ्रे खण्डमा पर्ने छ।
दुवै खण्डमा स्थायी सडक निर्माण गर्ने गरी अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ। गत असोजमा आएको बाढीले क्षति गरेको सडक निर्माणका लागि स्रोतको समस्या भएको थियो। स्रोत सुनिश्चित नहुँदा ठेक्का प्रक्रियाको काम अघि बढ्न सकेको थिएन।