पूर्वराजा ज्ञानेन्द्रको सक्रियताले राजावादी उत्साहित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गत दिएको सन्देशप्रति राजावादी शक्तिहरु जुर्मुराएको अवस्था छ । पूर्वराजा ज्ञानेन्द्रले आफुलाई अब साथ दिन आग्रह गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्रले राजकीय शक्ति त्यागेको यतिबेलासम्म यस्तो सन्देश आएको थिएन । राजा ज्ञानेन्द्रको सो सन्देशपछि राजतन्त्रको वकालत गरिरहेको राजासहितका शक्तिहरु सडकमा उत्रिएका छन् । यसक्रममा गणतन्त्रवादी र राजावादीबीच आरोपप्रत्यारोप चलिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारकै कुशासनका कारण अहिलेको अवस्था आएको टिप्पणी गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजाकै कारण देशमा गणतन्त्र आएको भन्दै अहिले राजसंस्था पुर्नस्थापित हुने महौल नभएको टिप्पणी गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई २०८४ सालको निर्वाचनमा भाग लिन चुनौती दिनुभएको छ ।
त्यसो त सडकमा उत्रिएका राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई समूहलार्य एकताबद्ध बनाउने प्रयास भए पनि आन्दोलनको जस लिन उनीहरुबीच मैत्यकता देखिन्छ । प्रसाईले राजसंस्था फर्काउन पहिले आफुले जनतालाई आन्दोलित पारेको दावी गर्नुभएको छ । यसरी हेर्दा राजावादी शक्तिहरु तत्काल एकताबद्ध हुने अवस्था भने देखिदैन ।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थल पुगेका जनताको भीड देख्दा नेपालमा साँच्चै राजतन्त्र फर्किहाल्ने हो कि भन्ने देखिन्छ । तर प्रमुख दलका नेताहरुले यो भीड मात्र भएको भन्न सुचाएका छन् । सदनमा पनि यो बहस दिनानुदिन बढ्दो अवस्थामा
छ । सदनमा सत्तारुढ एमालेका सचिव गोकर्ण विष्ट, कांग्रेस महामन्त्री गगन थापा, एमाले मुख्य सचेतक महेश बर्तौलाले राजसंस्था अब नफर्किने दाबी गरे । सो बैठकमा राप्रपाकी नेतृ एवं सांसद रोसन कार्कीले फागुन १२ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायल मात्र भएको दाबी
गरिन् । आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने दाबी गर्दै कार्कीले भनिन् ‘एक जना मित्रले भुत देख्नुभएछ । लेनिनको भुत होकी माओवादीको भुत हो प्रश्न गर्न
चाहान्छु । अर्का मित्रले राजा जिल्ला जाँदा जिन्दावाद सुन्नु भएकै होला । अब तपाईहरु लुक्ने ठाउँ खोज्नु
होला ।’
यसरी हेर्दा राजतन्त्रवादी र गणतन्त्रवादीहरु आमने सामने हुने अवस्था निम्तिने अवस्था देखिदैछ । कतिपयले अब दलका नेता र पूर्वराजा ज्ञानेन्द्र एक ठाउँ बसेर सहमतिमा पुग्नुपर्ने सुझाव दिइरहेका छन् । यो सबैभन्दा उपयुक्त विकल्प हुन
सक्छ । तर गणतन्त्रवादीहरुले आफ्नो अहं छोडेको देखिदैन । यदि पूर्वराजा ज्ञानेन्द्र, देउवा, ओली र प्रचण्ड एक ठाउँमा आउने हो भने देशमा अद्वितीय मेलमिलाप हुने विज्ञहरुको विश्लेषण छ । पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीति गर्न गणतन्त्रवादीहरुले चुनौती दिइरहेका छन् । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजसंस्था दलभन्दा माथि हुने भएकाले राजाले दल खोल्न आवश्यक नरहेको बताएका छन् ।
यसरी दलहरुबीच आरोप प्रत्यारोप चल्दै गए गणतन्त्रवादी र राजावादीबीच टकराव उत्पन्न हुने देखिन्छ । राजावादीहरुको सक्रियतापछि ‘जनतासँग माओवादी’ कार्यक्रम स्थगित गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको सक्रियता बढे माओवादी पनि प्रतिकारमा उत्रने चुनौती दिएका छन् । यसरी गर्दा कतै देश गणतन्त्रवादी र राजावादीबीच मुठभेदमा त पर्ने हैन यो समय क्रमले देखाउला ।

LEAVE A REPLY