विपद् व्यवस्थापनमा सशस्त्रसहितको स्वयंसेवक टोली

काठमाडौं । स्थानीय तहमा विपदमा पर्दा जनताले दुःख झेलिरहेका वर्तमान अवस्थामा विपद् न्यूनीकरण तथा व्यवस्थापनमा सशस्त्र प्रहरीले स्थानीय नागरिकसँग मिलेर विपद् स्वयंसेवक टोली बनाउन थालेको छ ।
स्थानीय तहसँग समन्वय गरी विपद सम्बन्धी आधारभुत तालिम दिएर देशैभरका वडामा विपद् व्यवस्थापन स्वयंसेवक टोली बनाउने प्रक्रिया अघि बढाइएको हो ।
हरेक वडामा ३५ जनाको विपद् स्वयंसेवक टोली तयार गर्ने सशस्त्र प्रहरीको लक्ष्य छ । विभिन्न पालिकामा यससम्बन्धी तालिम सुरु भइसकेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी महानिरिक्षक राजु आर्याल स्वयंसेवकको अभियानले विपदबाट हुने सम्भावित क्षति धेरै कम गर्न सकिने बताउछन् । ‘नागरिकसँगको सहकार्यले मात्र विपदको जोखिम न्यूनीकरण कम गर्न सकिन्छ भनेर हामीले स्वयंसेवकको अवधारणा सुरु गरेका हांै ।’ उनले भने– ‘स्थानीय तहसँग मिलेर हरेक वडामा विपद व्यवस्थापन स्वयंसेवक तयार गर्छौ ।’
विपद स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि हालै गृहमन्त्रालयले स्वीकृत गरेसँगै विपद व्यवस्थापनमा स्वयंसेवक अवधारणा कार्यान्वयन गर्न लागिएको हो ।
कार्यविधि अनुसार हरेक वडामा स्थानीय तहसँग मिलेर तालिम दिई स्वयेंवक खटाइने छ । तालिमका लागि भने स्थानीय तहले नै व्यक्ति छनौट, तालिम खर्च र विपद् व्यवस्थापन सम्बन्धी सामग्रीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । एकै पटक सबै वडामा तालिम दिन नसकिने भएकाले क्रमश सञ्चालन गरिने र १८ दिने तालिम पाठ्यक्रम रहेको सशस्त्रले जनाएको छ ।

LEAVE A REPLY