२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले निर्वाचन आयोग गुहार्ने निर्णयसमेत गरेका छन् । हिजो भएको छुट्टै भेलाको निर्णय अनुसार इतर समूहले आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।
पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम(कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै आएका छन् ।
केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।








