काठमाडौं । नेपालमा पद भएपछि कमाउनुपर्छ भनेर लाग्नेको संख्या थपिदै गएको छ । वर्तमान सरकारका मन्त्रीहरु पनि एकपछि अर्को गरी भ्रष्टाचारको प्रकरणमा मुछिएका छन् । पोखरास्थित लिचिको जग्गा खरिद प्रकरणमा मन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजिनामा दिएका छन् । सरकारका अर्का बहालवाला भूमि सुधार मन्त्री बलराम अधिकारी पनि सोही प्रकरणमा मुछिएका छन् । मन्त्री अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब छ । तर प्रधानमन्त्री ओलीले भने सामाजिक सञ्जालमा लेखेकै भरमा कसैमाथि कारवाही नहुने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले तीनै तहका सरकारमा रहेको सार्वजनिक व्यक्तिहरु कानूनी दायराभन्दा बाहिर नरहेको उल्लेख गरे ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कही कतै आर्थिक विचलन देखिए कारवाही हुने दाबी गर्दै भने– ‘भ्रष्टाचार हुन पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौं । यद्यपी, केही मानिसहरुको फेसन हुने गर्छ । प्रधानमन्त्रीलाई लाञ्छना नलगाई नहुने त्यस्ता मानिसहरुले कहिले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर हल्ला गर्छन् । अहिले पनि छानबिन होस् भनेर कराउँछन् । गम्भीर प्रश्न उठेको खण्डमा कारवाह हुन्छ । कसैले फेसबुकमा स्ट्याटस लेखेको भरमा भने कारवाही हुन्न ।’
भण्डारीस“ग अब कुनै पनि सम्झौता नहुने
त्यस्तै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने एक भेटघाट कार्यक्रमका क्रममा बताउनु भएको छ । कर्णालीका केन्द्रीय सदस्यहरुलाई राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिनु भएको थियो । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष ओलीले दुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेताले भने । स्रोतका अनुसार कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपति बारे भएका कुराहरु सुनाउनुभयो ।’
भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै अध्यक्ष ओलीले भन्नुभयो, राष्ट्रपतिका लागि माधव नेपाल र झलनाथ खनाललाई प्रस्ताव राखेँ तर फर्केर फेरी सक्रिय राजनीतिमा आउन पाईदैन भन्दै उहाँहरुले राष्ट्रपति बन्न मान्नु
भएन । त्यसैले सक्रिय राजनीतिमा फर्किन नपाइने भएकोले विद्याभण्डारीलाई दोस्रो पटक पनि राष्ट्रपति बनाउन आफूले जोड बल गरें ।








