काठमाडौं । संसारको शासकीय प्रणालीमा दलीय व्यवस्थालाई सबैभन्दा उत्तम व्यवस्था मानिन्छ । दलीय व्यवस्थाका आधारमा शासकीय प्रणाली प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुगेको हुन्छ । त्यसैले राजनीतिक दलहरु सुदृढ र स्वस्थ भए भने देशको राजनीतिले सहिबाटो समातेको मानिन्छ । लोकतन्त्रको सुन्दर पक्ष पनि यही हो । तर हाम्रो देशको राजनीतिक दलहरु आन्तरिक कलहमै र जुट्न र फुट्नमै बढी समय खर्चिरहेका छन् । दलहरुको यो व्यवहारले न त जनताले सुख पाउछन् न त आफु आफु बिचमै सुध्रिएर जान्छन् । सच्चिनुभन्दा सकिनुतर्फ नै उन्मुक्त भएको देखिन्छ । यो व्यवहारले लोकतान्त्रिक गणतन्त्रलाई गिज्याईरहेको छ ।
ठूला राजनीतिक दलहरु, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत साना दलहरुमा आन्तरिक कलह झांगिदै गएको छ । यसले, गणतन्त्रलाई तिलाञ्जली र राजतन्त्रलाई पुर्नवहाली गर्न मलजल पुर्याईरहेको छ । जो जस्ले दलको नेतृत्व गरे पनि देश र जनताका लागि हो भने किन कलह गरिरहुन ? एउटै व्यक्तिले नेतृत्व लिइरहनु र उस्तै योगदान पुर्याएका अरु व्यक्तिले पालो नपाउनु ? सबैले पालो पाउने र एउटै व्यक्ति निरंकुश जस्तो भएर दोहोरिइ रहन नपाउने व्यवस्था नभएसम्म पार्टीभित्रको आन्तरिक कलह नरोकिने देखिन्छ । अहिलेको दलभित्रको कलहको कारण भनेकै व्यक्तिको नीजि स्वार्थ हो । नीजि स्वार्थबाट माथि नउठेसम्म न त जनताले सुख पाउँछन्, न त दलकै नेताहरुले विकास गर्न सक्छन् । अहिले सबै दलहरु आन्तरिक कलहको चपेटामा छन् ।
नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीच दलको नेतृत्व लिन होडबाजी छ । शेखर कोइराला दल फुटाएरै भए पनि आफु पार्टी सभापति हुने ध्याउन्नमा छन् भने देउवा कुनै हालतमा पनि शेखरलाई सभापति पद नदिने पक्षमा रहेका छन् । एक पक्षलाई पद नभै नहुने र अर्को पक्षलाई पद छोड्न नमिल्ने अडान लिन थालेपछि पार्टी फुटको संघारमा पुगेको अवस्था छ । त्यसैगरी नेकपा एमालेमा पनि पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्याभण्डारी बीच अध्यक्ष पदको झगडा छ । ओली दिँदै नदिने र विद्यालाई नभई नहुने स्थिति आएपछि एमाले फेरी फुट्ने हो कि भन्ने त्राहीमा छन् । त्यसैगरी संसदको तेस्रो ठूलो दलमा पनि पार्टी नेतृत्वको विषयलाई लिएर अध्यक्ष प्रचण्ड र जनाद्र्धन शर्माबीच चर्काचर्कि नै छ । यो दल पनि फुट्ने हो की भन्ने शंका गरिन थालेको छ । यो दलमा त झन् पुष्पकमल दाहाल प्रचण्डले नै एकलौटी रुपमा अध्यक्षको जिम्मेवारी दिइरहेका छन् । त्यसैले दोस्रो पिँढीले अध्यक्षको पद दावी गर्नु स्वभाविकै हो । त्यसैगरी नेकपा एसभित्र पनि पदकै विचमा विवाद छ । नेपाल–खनालबीच विवाद चलिरहेका बेला भर्खरै पार्टी प्रवेश गरेका बामदेव पनि पदकै लागि किचलो गरी रहेका छन् । तर नेकपा एसले बामदेवले चाहेको पद नदिने निर्णयमा पुगेको बुझिँदै छ ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टी ९नाउपा०भित्र पनि आन्तरिक कलह चर्किरहेको छ । दलको संरक्षक रहेको रेशम चौधरीले आफ्नै पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर पितालाई नाउपाको अध्यक्ष बनाएका छन् । त्यसैगरी, राप्रपाभित्र पनि नेतृत्वको कार्यशैलीको विषयलाई लिएर पार्टीका धवल शमशेर राणा र अध्यक्ष राजेन्द्र लिङ्देनबीच विवाद र मनमुटाव चलिरहेको छ । सबै दलबीच विवादको मुख्यकारण पद र प्रतिष्ठा नै रहेको छ ।







