एमाले विधान महाधिवेशनको पार्टी पंक्तिालाई निर्देशनः मिसन(०८४ मा सार्थक परिणाम, बहुमतसहितको बलियो सरकार
२२ भदौ, काठमाडौं।भदौ २० देखि २२ गते सम्म भएको एमालेको दोस्रो विधान महाधिवेशनले बुहमतयुक्त बलियो सरकार निर्माणका लागि दुई वर्षपछि हुने आम चुनावका अहिलेदेखि नै एकताबद्ध भएर लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।
महाधिवेशनले २९ बुँदे समसामयिक प्रस्तावहरु पारित गर्दै बहुमतप्राप्त बलियो र स्थिर सरकार राष्ट्रिय माग भएकाले यो अभिभाराको सफल कार्यान्वयनका लागि २०८४ को निर्वाचनमा नेकपा एमालेको विजय अनिवार्य रहेको उल्लेख गरेको छ
‘विगतका कमजोरीलाई सच्याउँदै, बाह्य चुनौतीलाई परास्त गर्दै आन्तरिक एकतालाई मजबुद बनाउँदै ‘मिसन – ०८४’ मा सार्थक परिणाम निकाल्न यो महाधिवेशन संकल्प गर्दछ’ महाधिवेशनबाट पारित प्रस्तावमा छ ।
नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको मूल धार एमाले रहेकोले एकता र एकीकरणका लागि पनि अन्य वामपन्थी विचारधारा बोकेकाहरुलाई आह्वान गरेको छ । ‘जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा, सुदृढ संगठन र प्रभावशाली नेतृत्वको वरिपरि सिंगो वामपन्थी जनमत धु्रवीकृत हुनु आजको आवश्यकता हो ।
यही राष्ट्रिय कार्यभारलाई मनन गर्दै वामपन्थी विचारधारामा विश्वास गर्ने आम जनसमुदायलाई नेकपा एमालेमा गोलबन्द हुन यो विधान महाधिवेशन हार्दिक आह्वान गर्दछ’ प्रस्तावमा भनिएको छ ।
महाधिवेशनले वर्तमान सरकार गठनपूर्व एमाले र नेपाली कांग्रेसबीचमा हस्ताक्षर भएको ७ बुँदे सहमतिमा वर्तमान संविधानको सबल र दुर्बल पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुकूलका कानुन निर्माण गर्ने विषय उल्लेख गरिएकोले त्यो काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
‘संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय बहस चलिरहेको छ । तसर्थ हाम्रो पार्टी उपरोक्त प्रतिवबद्धताअनुरुप संविधानको समीक्षा र संशोधनका कामहरु तत्काल थालनी गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ’ महाधिवेशनबाट पारित प्रस्तावमा छ,’साथै, यस काममा सकारात्मक सहयोगका लागि सबै राजनीतिक दल तथा आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।’

LEAVE A REPLY