काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको बलमा नयाँ सरकार बनेको छ । एक हिसाबले नेपाली राजनीतिमा उथलपुथल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेजनी पुस्ताको सहयोग र समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् र प्रधानमन्त्री सुशिला कार्की कै सिफारिसमा आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति राष्ट्रपति पौडेलले तोकेका छन् । यससँगै संसद विघटन पनि भएको छ ।
प्रतिनिधि सभा विघटन भइसकेको र नयाँ निर्वाचनको मिति समेत तोकिएको अवस्थामा सबैको ध्यान निर्वाचनतर्फ मोडिएको छ । प्रमुख दलका केही नेताले संसद विघटनलाई अस्वीकार गरे पनि निर्वाचनलाई भने स्वीकारेकै अवस्था छ । ‘अब कस्तो निर्वाचन हुन्छ, यसतर्फ हाम्रो ध्यान छ ।’ दलका नेताको भनार्य छ । अहिलेसम्मको स्थिति हेर्दा आगामी निर्वाचन स्वच्छ र निष्पक्ष हुने स्पष्ट देखिन्छ । प्रधानमन्त्री कार्की स्वयम्ले पनि ६ महिनाबाट एक मिनेट पदमा नबस्ने अर्थात चुनाव गराएर पद छाड्ने स्पष्ट पारेकी छन् ।
निर्वाचनका लागि अब के के गर्नुपर्छ त यसतर्फ सबैको ध्यान गइरहेको छ । सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराउनु पर्छ । यस्तै मतदाता नामावलीमा नाम थप्न मिल्ने गरी ऐनमा व्यवस्था गर्ने, क्षतिग्रस्त आयोगका सात कार्यालयहरु पुनः सञ्चालनमा ल्याउने, शान्ति सुरक्षा दिने, सुरक्षा निकाय पुर्नस्थापित गराउनुपर्ने, विदेशस्थित नेपालको मतदान अधिकार सुरक्षित गर्ने काम गर्नुपर्छ ।
नयाँ पुस्ता र पुराना दल सबैलाई समान अवसर सुनिश्चित गर्ने, स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ भनेर सबैलाई आश्वस्त पार्ने, आयोगले जसरी पनि प्रमुख दलहरुको सहभागितामै चुनाव गराउने कार्य सरकार र निर्वाचन आयोग दुबैले गर्नु आवश्यक छ ।
हुन त यस पटकको निर्वाचन रोचक र उत्साहजनक बन्ने देखिएको छ । किनभने प्रमुख दलका उम्मेदवारको अलावा स्वतन्त्रहरुको पनि निर्वाचनमा उल्लेख्य उपस्थिति रहने छ । कतिपय ठाउँमा जेनजी पुस्ताकै समर्थनमा स्वतन्त्र उम्मेदवार समेत उठ्ने अवस्था छ । त्यसैले पनि निर्वाचन रोचक बन्ने अवस्थामा पुगेको हो ।
प्रमुख दलले अहिले निर्वाचनप्रति रोस प्रकट गरिरहे पनि अन्तसम्ममा प्रमुख दललाई समेत निर्वाचनमा भाग लिनुको विकल्प छैन । यदि समयमै निर्वाचन हुन सकेन भने देश फेरि अप्ठ्यारो अवस्थामा पुग्ने छ । त्यसको दोष प्रमुख दलले नै लिनुपर्ने छ । त्यसैले समयमै दलहरुले यसतर्फ ध्यानदिनु जरुरी छ ।
हुन त निर्वाचन फागुन २१ गते हुने भए पनि त्यसको प्रचार प्रसार, उम्मेदवारी दर्ता लगायत त्यसअघि धेरै काम बाँकी छ । त्यसो त निर्वाचन आयोग अहिलेदेखि नै निर्वाचनको कार्यतालिका बनाउन थालिसकेको छ । निर्वाचन आयोगलाई कतैबाट पनि दोष नआउने गरी आयोगको तयारी छ ।
हामीले यसबीचमा धेरै निर्वाचन भोगिसकेका छौं तर निर्वाचन आयोग असफल भएको पाइदैन । आयोगकै कारण निर्वाचन स्वच्छ र निष्पक्ष भइरहेको छ । यही जनस्तरबाट सहयोग पाएको अवस्थामा यस पटकको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ ।
तर यस पटकको निर्वाचनमा उल्लेख्य मात्रामा स्वतन्त्रहरु समेतले जित्ने अहिले देखिनै आँकलन गरिदै छ । जेनजी पुस्ताले रुचाएका बालेन शाह, हर्क साम्पाङ जस्ता व्यक्तिको झुकाव कस्तो रहन्छ, त्यतातिरै मत जाने विश्लेषण भइरहेको छ । त्यसो त यस पटकको निर्वाचनमा जेनजीको उपस्थिति कस्तो रहन्छ, झुकाव कता जान्छ, त्यतातिर जित हुने लगभग पक्का छ ।
त्यसो त नयाँ जनमतलाई प्रजातन्त्रको दियो भनिन्छ तर प्रजातन्त्र कै वकालत गर्ने प्रमुख दलहरुले किन निर्वाचनको खिलाप बोल्दैछन् । कतिपय जानकारहरु प्रमुख दलले निर्वाचनको खिलाप बोल्नु देखावटी मात्र भएको र अन्तिममा उनीहरु निर्वाचनमा भाग लिने विश्लेषण गर्छन् ।








