काठमाण्डौ राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना गरिने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती हिजो दशैंघरमा विधि पूर्वक भित्र्याइएको छ ।
गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, नेपालीे सेना गुर्जुको पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित लावालस्करका साथमा फूलपाती ल्याइएको थियो।
हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । फूलपाती भित्र्याउने क्रममा राजतन्त्रकालमा राज्यप्रमुख र गणतन्त्र स्थापनापछि सरकारका प्रतिनिधिको उपस्थिति रहने गरेको हनुमानढोका दरबार सङ्ंग्रहालय विकास समितिले जनाएको छ ।









