काठमाडौँ । प्रधानमन्त्री निवास बालवाटारमा गत शुक्रबार सम्पादकहरु सँग वर्तमान राजनीतिक गतिविधि, राजदूत फिर्ता, चुनाव लगायतका विषयवस्तुमा आधारित भएर पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम भएको थियो ।
कार्यक्रममा राजदूतहरुलाई किन फिर्ता बोलाइयो भन्ने प्रश्नमा उनले भनिन् ‘सरकार लामो समयसम्म जाँदैन भनेर विदेशमा ब्रिफिङ गरेको थाहा पाएको, केही राजदूतले अनियमिततामा संलग्न भएको, कुनै दूतावासले यो सरकार चार दिनको हो यसको अर्थ छैन भनेपछि राजदूत फिर्ता गर्ने निर्णय गरेको हो ।’
जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री भएकी उनले राजनीतिक नियुक्तिभन्दा परराष्ट्र सेवाबाट गएका राजदूतको कार्यक्षमता राम्रो भएको समेत बताइन् । उनले अन्तरक्रियाका उत्तर दिने क्रममा सरकारलाई विदेशी हस्तक्षेप नभएको, भदौ २७ मा प्रधानमन्त्री भएपछि कुनै विदेशी राजदूत र प्रतिनिधिले आफुलाई नभेटेको, राहदानीको अभाव देखेका कारण जर्मन राजदूतलाई आफुले भेटेर अनुरोध गरेको, प्राय सबै राजदूत र विदेशी प्रतिनिधिलाई सिंहदरबारकै कार्यालयमा भेटेको, धराशायी बन्न लागेको संस्थान नेपाल वायु सेवा निगमलाई बचाउन विशेषज्ञ व्यक्ति चाहिने र त्यस्तो व्यक्तिका रुपमा पाइलटलाई मन्त्री बनाउने प्रयास गरेको तर नसकेको बताइन् ।
त्यसैगरी प्रधानमन्त्री कार्कीले सरकार चुनावप्रति प्रतिबद्ध भएको बताउँदै राजतन्त्र चाहिन्छ भन्दै आन्दोलनका धम्की दिइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई निर्वाचनमा भाग लिई विजयी भएर संविधान परिवर्तन गर्ने अवसर भएको बताइन् । दुर्गा प्रसाईलाई आन्दोलनमा जान नदिने र वार्तामा ल्याएर सहमति गर्ने र बल जफती आन्दोलनमा गएर हत्या हिंसा गरे अपराध संहिता आकर्षित हुने बताइन् ।
त्यस्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको रापतापमा दलहरुसँग संवाद वातावरण नहुँदा पनि दलहरुलाई नै पत्राचार गरी आमन्त्रण गरिरहेको जानकारी दिइन् । त्यस्तै काठमाडौं महानगरका मेय बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि ५–६ पटक भेटेको र प्रधानमन्त्री भएपछि पनि दुइृ पटक भेटी सकेको बताइन् । त्यस्तै प्रधानमन्त्री र बालेनको के सम्बन्ध छ भनेर पत्रकारले राखेको जिज्ञासामा उनले भनिन् ‘बालेनलाई म छोरो भनेर बोलाउछु । उसले चाहि मलाई दिदी भन्छ ।’
उनले ओम प्रकाश अर्यालसँग विरक्त भएर बालेन राजिनामा मागेको हो रु भनेर सोधिएको प्रश्नमा उनले होइन भन्दै बालेन आफु कुरा गर्ने तर अरुको कुरा नसुन्ने प्रवृत्तिको व्यक्ति रहेको र आफुले बोलेको सुन्नु पर्छ तर अरुले बोलेको सुन्नु हुँदैन भन्ने मानसिकता बालेनमा रहेको बताइन् ।
अन्तमा उनले आफु प्रधानमन्त्री बन्दिन भन्दा पनि राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाका बिच राष्ट्रघाति भएको घोषणा गर्ने भनेपछि आफु प्रधानमन्त्री भएको बताइन् ।








