भोजकुमारी खड्का
मेडिकल व्यवसायी दुर्गा प्रसाईले कात्र्तिक १५ गतेदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेका थिए । तर घोषणा ढिलो हुँदा र मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको छलफलपछि मंसिर ७ गते देखि नै आन्दोलन गर्ने घोषणा गरेको सञ्चारकर्मीलाई सुनाए । मंसिर ७ ऐतिहासिक महत्वको दिन भएको हुँदा सोही दिनका लागि आन्दोलन गर्ने तिथिमिति जुराएको सुनाए ।
तर जेनजीको दबाबमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले दुर्गा प्रसाईलाई आन्दोलनमा जानै नदिने र सहमतिमै ल्याउने बताइरहेको छ भने यता व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ मा हुने आन्दोलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १४ अञ्चल, ७५ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा हुने बताए । तर शान्तिपूर्ण रुपमा गरिने आन्दोलनबाट आन्दोलनको उद्देश्य पुरा नहुने, गत चैत्र वैशाखमा शिक्षकहरुले गरेको आन्दोलनबाटै प्रष्ट हुन्छ ।
हत्याहिंसा सहितको आन्दोलन नभई देशमा उथलपुथल हुँदैन । जुन कुरा भाद्र २३ र २४ गतेको जेनजीले गरेको आन्दोलनमा घुसपैठबाट भएको हत्या हिंसाले पुष्टि गरेको छ । जेनजी आन्दोलनको करिब २४ घण्टामै ठूलो उथलपुथल भएको घटना ताजै छ । अब त्यस्तो घटना कोही कसैले पनि नगरोस् । यदि त्यस्तो घटना भए गराए अपराध संहिता आकर्षित हुने प्रधानमन्त्री सुशीला कार्कीले पत्रकारसँगको अन्र्तक्रियाका क्रममा बताईसकेकी छिन् ।
यी आदि कारणले दुर्गा प्रसाईले घोषित समयमा आन्दोलन गर्दैनन् । गरि हाले पनि धेरैको सहभागिता नहुने सम्भावना रहेको छ ।








