—सनत गिरी
यतिबेला देश चुनावमय बनिरहेको छ । चुनाव केन्द्रीत गरेरै दलहरु गतिविधि सञ्चालन गरिरहेका छन् । तर देशको दोस्रो ठूलो दल भनिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद पुर्नस्थापनाको रटान लगाइरहेका छन् । संसद पुर्नस्थापना के का लागि ? संसद पुर्नस्थापनाले राजनीतिक निकास देला ? यो जवाफ ओलीसँग छैन । चुनावमा हारिएला भन्ने डर ओलीलाई हुन सक्छ । त्यसभन्दा अरु फरक कारण देखिदैन ।
देशको ठूलो दल नेपाली कांग्रेसमा चुनाव बारेम फरक फरक विचार पाइन्छ, तर चुनावमा जानु हुन्न भन्ने धारणा कांग्रेसका कुनै पनि नेताको पाइदैन । त्यसो त केही दिन अघि एकीकृत भएको दश दलको नेपाल कम्युनिष्ट पार्टी खुला हृदयले चुनावमा जान तयार देखिन्छ । ओलीको संसद पुर्नस्थापनाको रटानलाई अब नेपाल कम्युनिष्ट पार्टीले जवाफ दिनुपर्छ । आफु चुनावमा हारिएला भनेर मुलुकलाई राजनीतिक बन्दी बनाउन पाइदैन । त्यसो त देशको वर्तमान परिस्थिति साधारण रुपले आएको होइन । जेनजीहरुको असाधारण आन्दोलनको जगमा देशमा वर्तमान परिस्थिति बनेको हो । देशमा वर्तमान सरकार बनेको हो । देशभरका जेनजी आन्दोलित भएर बनेको वर्तमान राजनीतिक परिस्थिति बदल्न ओली होस् वा अरु कसैलाई छुट छैन । ओलीले एकोहोरो कराउँदैमा संसद पुर्नस्थापना हुने वाला पनि
छैन ।
देशमा चरम भ्रष्टाचार बढेको बेला, राजनीतिक अस्थिरता बढेको बेला त्यसमाथि ओली सरकारले जेनजीलाई आन्दोलित हुन बाध्य पारे । सामाजिक सञ्जालमाथि बन्देज लगाउन सानो कुरा थिएन । कुरा सामाजिक सञ्जालमाथि बन्देजको भए पनि यो परिस्थिति निर्माण गर्नुमा ओली सरकारका धेरै कुकर्म थिए । अब ओली आफ्नो कुकर्म ढाकछोप गर्नु एकोहोरो रुपमा संसद पुर्नस्थापनाको रटान लगाइरहेको कुरा ध्रुव सत्य हो ।
जेनजी युवाले कांग्रेस सभापति शेरबहादुर देउवामाथि प्रहार गरे, प्रचण्ड निवासमा आक्रमण गरे । तर जेनजीलाई आन्दोलित पार्न ओलीकै क्रियाकलाप प्रमुख कारण हो । देश बद्लिन जनता बदलिनु पर्छ, जनतालाई सुखा पाउन असल शासन चाहिन्छ । यदि राम्रो शासन हुदैन भने जनताले कसरी चित्त बुझाउनु ? नेपालमा त्यस्तै भयो एकातिर कुशासन भयो, जनताले सहज रुपमा न्याय पाएनन् ।
वास्तविक रुपमा भन्नुपर्दा जेनजी आन्दोलनको जगमा बनेको सुशिला कार्की प्रधानमन्त्री रहेको अन्तरिम सरकारले जेनजीले देखाएको बाटो हिड्न खुट्टा कमाउनु हुन्न । नेपालमा अहिले जस्तो भयानक आन्दोलन कहिल्यै भएको थिएन । जेनजी यसरी आन्दोलित भएका थिएनन् । यो ऐतिहासिक परिघटना हो । यदि साँच्चै देश बनाउने हो भने भ्रष्टाचारीहरुलाई सबक सिकाउने हो भने भ्रष्टहरुलाई कारवाहीको कठघरामा ल्याउनै पर्छ । यो जेनजीको मात्र आन्दोलन थिएन, सम्पूर्ण जनताकै हृदयको उद्गार थियो । त्यसै जेनजीहरु फेरी विगतमा जस्तै आन्दोलित हुने दिन नआवस् ।








