काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने तयारी तीव्र पारिएको बताएका छन्।उनले सर्लाहीका स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीभित्रको व्यापक छलफलपछि औपचारिक घोषणा गर्ने बताए।
थापाले अधिवेशन नजिकिँदै गएपछि पार्टीका नेता, कार्यकर्ता र आफूलाई साथ दिँदै आएका व्यक्तिसँग निरन्तर परामर्श गरिरहेको जानकारी दिए। उनले भने,“म १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार हुँ। औपचारिक घोषणा गर्ने प्रक्रिया सुरु हुन्छ, अहिले तयारीमै छु।”
उनका अनुसार महाधिवेशनले पार्टीलाई नयाँ सन्देश, नयाँ नीति र नयाँ नेतृत्व दिनुपर्ने आवश्यकताबारे कार्यकर्ताबाट व्यापक दबाब आएको छ। देशभरका नेताहरूको धारणा सुन्न अब केही दिनमै पूर्वदेखि पश्चिमसम्म देशदौडाहामा निस्कने तयारी भइरहेको थापाले बताए। प्रारम्भिक चरणमा पूर्व–पश्चिम राजमार्गबाटै २०–२२ जिल्लामा पुग्ने योजना रहेको उनले जानकारी दिए।
थापाले कांग्रेसभित्र अधिवेशनसम्बन्धी मतभेदहरू समाधान भइसकेको उल्लेख गर्दै ती अलमलहरूलाई आसन्न निर्वाचनबाट अलग गरेर नहेर्न आग्रह गरे। फागुन २१ मा चुनाव गर्ने सरकारको घोषणा संविधान जोगाउन अपरिहार्य भएको भन्दै थापाले भने,“दलहरू चुनावका लागि तयार छन्, अब सरकारले पनि उचित वातावरण सुनिश्चित गर्नुपर्छ।” जेनजी आन्दोलनका क्रममा भागेका कैदी र लुटीएका हतियारका कारण निर्वाचनमा असुरक्षा हुन सक्ने उनको दावी रहेको छ ।








