काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सहमति नभए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका छन्। सरकारलाई दिएको समयसीमा नाघेपछि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्म सम्झौता गर्ने र त्यसपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयनसम्बन्धी निर्णय लिने प्रतिबद्धता जनाएको जानकारी दिए।
उनका अनुसार सरकार गम्भीर भएर अघि नबढे आन्दोलन अपरिहार्य हुनेछ। “प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने आश्वासन दिनुभएको छ। तर सहमति नभए हामी आन्दोलनमा उत्रिन्छौं,” उनले भने।
प्रसाईंले आन्दोलनका क्रममा लघुवित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट विस्थापित गर्ने चेतावनीसमेत दिएका छन्। साथै, उनले आगामी २१ फागुनमा तय भएको निर्वाचन प्रक्रियालाई समेत प्रभावित पार्ने चेतावनी दिएका छन्।
आन्दोलनको औचित्यमाथि कुरा गर्दै प्रसाईंले आफूहरूले जनमत संग्रहमार्फत आफ्ना मुद्दामा जनताको प्रत्यक्ष मत लिनुपर्ने धारणा राखेको बताए। “हामी विद्रोहमा जान चाहँदैनौँ, लोकतन्त्रको अधिक प्रयोग गर्न खोजेका हौँ,” उनले भने, “तर आइतबारसम्म सम्झौतामा हस्ताक्षर नभएपछि हामी बाध्य भएर कडा कदम चाल्नेछौँ।”








