काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन हुने समय जति— जति नजिकिदै जान्छ त्यति—त्यति नयाँ संसद् बैठक कहाँ बस्ने भन्ने बारे अन्योलता बढ्दै जान थालेको बुझिदै छ । उता नयाँ बानेश्वरको संसद भवन जेनजी आन्दोलनमा खरानी भएको र यता नयाँ संसद भवन अझै तयारी अवस्थामा आई नपुग्नुकै कारण यस्तो अन्योलता बढ्दै गएको हो । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने तय भए पनि संसद् भवनको अन्योलता अझै कायमै छ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सम्बन्धित मन्त्रीहरूले पटक–पटक निरीक्षण गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि नयाँ भवन निर्माणले गति लिन सकेको छैन। सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार निर्वाचनपछि प्रतिनिधि सभा बैठक सञ्चालन हुने गरी काम तीव्र बनाउन निर्माण कम्पनीलाई ताकेता भइरहेको छ।
आयोजना कार्यालयका अनुसार भवनको मुख्य संरचना सम्पन्न भइसकेको छ। तर आन्तरिक सजावट, एचभिएसी, एमइपी, सम्मेलन कक्ष, बाटो र अन्य सहायक पूर्वाधारको काम बाँकी छ। करिब पाँच अर्ब तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको संसद् भवनको ठेक्का नेपाली कम्पनी टुन्डी र चिनियाँ कम्पनी सेकले संयुक्त रूपमा पाएका छन्। २०७६ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि छ वर्ष बित्दा पनि काम पूरा हुन नसक्नु विडम्बना भएको छ ।








