निगमलाई मुनाफा प्राप्त गर्न प्रतिस्पर्धि बनाउदै नीजि क्षेत्रलाई पनि आपुर्ति व्यवस्था सहज बनाउन आवश्यकःमन्त्री सिन्हा

काठमाडौँ, पुस २७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमलाई प्रतिस्पर्धी बनाउदै इन्धन कारोबारबाट मुनाफा प्राप्त गर्न र आपूर्ति व्यबस्था सहज बनाउन निजी क्षेत्रलाई पनि प्रतिस्पर्धामा ल्याउनु पर्ने बताउनुभएको छ । निगमको ५६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री सिन्हालेत्यस्तो अभिव्यक्ति दिनु भएको हो ।
आर्थिक वर्ष २०८१र८२ मा इन्धन कारोबारबाट मुनाफा आर्जन गर्नु सकारात्मक भए पनि आपूर्ति व्यवस्था सहज बनाउन निजी क्षेत्रलाई पनि प्रतिस्पर्धामा ल्याउन आवश्यक रहेको मन्त्री सिन्हाको भनाई छ ।

अघिल्ला वर्षको कमजोर आर्थिक अवस्था र वित्तीय दबाबका बाबजुद संस्थागत सुधार, स्वचालित मूल्य प्रणालीको कार्यान्वयन र वित्तीय अनुशासनका कारण यो सफलता मिलेको मन्त्रीले उल्लेख गर्नुभयो ।
बोनस र अन्य सेवा सुविधाका सम्बन्धमा मन्त्री सिन्हाले कानुनले तोकेको सुविधाबाट कसैलाई वञ्चित नगरिए पनि कानुनविपरीत सेवा सुविधा लिन नहुने स्पष्ट पार्नुभयो । पारदर्शी, प्रविधिमैत्री, सुशासन कायम हुने गरी काम गर्न निगम कर्मचारीलाई मन्त्री सिन्हाले आग्रह गर्नुभयो ।
निगमले अगाडि बढाएको अमलेखगन्ज–लोथर र सिलिगुढी–झापा पाइप लाइन परियोजना सम्पन्न भए ढुवानी लागत घटाउने र आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सकिने मन्त्री सिन्हाको भनाइ छ ।
मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले झापा–सिलगुढी र अमेलगन्ज–लोथर पाइप लाइनको काम अगाडि बढाउन जरुरी रहेको भन्दै उहाँले जोखिममा रहेका डिपोहरू यथाशक्य छिटो स्थानान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
ब्यबसायलाई विविधिकरण गर्न आवश्यक छ ः लिलेन्द्र प्रधान
निगमको वार्षिकोत्सवका अवसरमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थको कारोबार घट्दै गएकाले निगमले व्यवसायलाई विविधीकरण गर्न आवश्यक रहेको बताउनुभयो । पेट्रोलमा इथानोल मिश्रणको विषयलाई आर्थिक, व्यावसायिक र उपभोक्तालाई के असर पर्छ भनेर अध्ययन गरेर मात्र अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । त्यसै गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोज दासले पाइप लाइन विस्तार हुँदा ट्याङ्कर व्यवसाय प्रभावित भएको बताउनुभयो । ढुवानी भाडाको इआरपी भुक्तानी अझै कार्यान्वयनमा नभएको, टोल कर तिर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । व्यावसायिक प्रयोजनका लागि ४५० केजीको ग्यास सिलिन्डर लागु गर्ने भने पनि अझै कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास ढुवानी गर्दा ठुलो रकम बाहिरिएको जानकारी दिनुभयो । बाराको सिमरासम्म पाइप लाइनबाट ग्यास ढुवानी गरी विशेष आर्थिक सेजको जग्गामा भण्डारणगृह निर्माण गर्न सके ग्यासको आपूर्ति व्यवस्था सहज हुने सुझाव उहाँको छ ।
कार्यक्रममा निगमको काठमाण्डौ स्थित बबरमहलमा नव निर्मित कर्पोरेट भवनको उद्घाटन पनि गरिएको छ । साथै वार्षिक उत्सवको अवसरमा निगमले उत्कृष्ट कर्मचारी तथा व्यवसायीलाई सम्मानित गरिएको थियो ।

LEAVE A REPLY