काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाले निर्वाचन आयोगले विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गर्ने विश्वास लिएका छन् ।
विशेष महाधिवेशनले गरेका निर्णयसहित अद्यावधिकका लागिआज माघ १ गते बिहीबार दिउँसो आयोग पुगेका थापाले यस्तो बताएका हुन्
उनले नेपाली कांग्रेसको विधान अनुसार भएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेको विषय आयोगलाई जानकारी गराइएको बताए । त्यसलाई पुस्ट्याइँ हुने सबै कागजात अद्यावधिकका लागि आयोगमा पेस गरिएको सभापति थापाले बताए
‘दफा ५१ बमोजिम चाँडोभन्दा चाँडो निर्वाचन आयोगले अद्यावधिक गर्नेछ भन्ने विश्वास लिएका छौं’, आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया शुरू भएपछि पुरानो कार्यसमिति भंग भएको कुरा समयमै हामीले आयोगमा जानकारी गराइसकेका थियौं । आज विशेष महाधिवेशन, त्यसबाट आएको नयाँ कार्यसमिति र त्यसले गरेका निर्णयबारे आयोगमा जानकारी गराएका छौं ।’
उनले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन हुने दिन माघ ६ गतेभन्दा पहिले नै आयोगले निर्णय गरिसक्ने विश्वास लिएको समेत बताए ।








