नुवाकोट । मकर सङ्क्रान्ति पर्वका अवसरमा बिहीबार नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा यसरी गोरु जुधाई प्रदर्शनी गरेर माघे संक्रान्ति मनाइएको छ । करीव २ सय वर्ष अघि देखि त्यस क्षेत्रमा यसरी नै गोरु जुधाएर पर्व मनाईदै आईएको छ । त्यसैलाइ निरन्तरता दिन यो वर्ष पनि विभिन्न स्थानमा विभिन्न इतिहास र किंवदन्तीसँग जोडेर गोरु जुधाई प्रदर्शनीसहित सांस्कृतिक गतिविधिका साथ मकर सङ्क्रान्ति पर्व मनाइएको हो ।
नुवाकोटको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाई प्रदर्शनीमा १४ हल गोरु जुधाएको आयोजक तारकेश्वर गाउँपालिका–३ का अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार विगतदेखिको परम्पराअन्तर्गत किसानले खेती गर्न पालेका गोरुलाई एक–अर्कासँग जुधाई उत्कृष्ट हुने गोरुधनी किसानलाई नगदसहित सम्मान गरिएको छ ।
‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित रहँदै विभिन्न सांस्कृतिक गतिविधिसहित गोरु जुधाई प्रतिस्पर्धा गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलको भनाइ छ । विगतमा राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको समितिमार्फत गोरु जुधाई सञ्चालन हुँदै गरेकामा यस वर्षदेखि भने पालिकामार्फत सरकारी कार्यक्रमका रूपमा सञ्चालनमा ल्याइएको हो । तारुकाको गोरु जुधाईको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न
त्यसैगरी, माघेसङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा एघार हल गोरु जुधाइएको छ । आयोजक गोसाइँकुण्ड युवा क्लबका अनुसार गोरु जुधाई प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाईको नियम, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिको व्यवस्थासहित गरिएको गोरु जुधाइले आन्तरिक पर्यटनमा सहयोग पुगेको छ ।









