काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ । पुस १४ गते आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक प्राप्त गरेका व्यक्तिलाई प्रतिस्थापन गरी कमजोर अंक ल्याएकालाई एक(दुई नम्बरमा राखेर विधि र विधानको धज्जी उडाएको एक पार्टी सदस्यले गुनासो पोखे । आन्तरिक मूल्यांकन र प्राइमरी निर्वाचनबाट प्राप्त गरेको रिजल्ट माग्दा नेतृत्वले पार्टी छोड्न धम्की दिएको ती सदस्यले आरोप लगाए ।
‘हामीले कति दुःख गरेर बनाएको पार्टी हो । विधि र पारदर्शीको नाममा पार्टी नाङ्गिएको छ । तानाशाहको हद भएको छ । आफूले प्राप्त गरेको प्राप्ताङ्क माग्दा नेतृत्वले समानुपातिक बन्दसूचीबाट राजीनामा दिन र महाधिवेशनअघि नै पार्टी छोड्न धम्की दिएका छन्’, ती सदस्यले भने।
रास्वपाले समानुपातिक उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई आवोदन दिन कात्तिक २२ गतेदेखि आह्वान गरेको थियो । पुस पाँच गतेसम्म ४१८ जनाले तोकिएको दस्तुर बुझाएर आवेदन दिएका थिए । तर बन्दसूचीमा आदिवासी जनजातिको तर्फबाट एक नम्बरमा रहेकी टासी ल्याजोम शेर्पालाई हटाएर सहकोषाध्यक्ष बसुमाया तामाङलाई ल्याउन खोजिएको आरोप छ । यद्यपि आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको शेर्पाले बताइन् ।
‘मैले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिएको छैन । आयोगमा अध्यावधिक गरेको सूचीमा मेरो नाम हटाएको सञ्चारमाध्यमबाट थाहा पाएको छु । नाम फिर्ता लिने पक्षमा छैन । मैले नै निवेदन नदिएसम्म कसरी नाम फिर्ता हुन्छ? उनले प्रश्न गरिन् ।
आफूलाई फ्री टिबेट पक्षधरसँग सम्बन्ध रहेको, ब्यायफ्रेन्ड टिबेटियन भएको, दलाई लामासँग सम्बन्ध रहेको जस्ता आरोप लगाएर बदनाम गर्न खोजिएकोप्रति उनले आपत्ति जनाइन् ।
यसैगरी आन्तरिक प्रतिस्पर्धामा राम्रो अंक पाएकी रञ्जु दर्शनालाई बन्दसूचीमा नपर्ने गरी पछिल्लो क्रममा राखिएको आरोप छ । विवेकशील साझाबाट एकतामा आएकी दर्शनाले बन्दसूचीबाट नाम फिर्ता लिइसकेको घोषणा गरिसकेकी छन् । पार्टी स्थापनाकालदेखि नेतृत्वलाई सहयोग गर्दै आएकी केन्द्रीय सदस्य कुसुम श्रेष्ठलाई नेतृत्वले अन्याय गरेको गुनासो आएको छ । श्रेष्ठले यसअघि रुपन्देही–३ मा उम्मेदवार बन्न आवेदन दिन बन्दसूचीबाट राजीनामा दिएकी थिइन् । त्यहाँ पनि उनीमाथि नेतृत्वबाट धोका भएको आरोप लागेको छ । यस्तै जनजाति कोटामै अब्बल अंक ल्याएका अन्य व्यक्तिलाई पछाडि राखेर सुम्निमा उदासलाई अगाडिको रोमा राखिएको आरोप लागेको छ ।
‘नेतृत्वले विधिलाई धज्जी उडाएर झ्यालबाट पनि ल्याएका छन् । बाहिरबाट पनि ल्याएका छन् । गलत भयो भनेर प्रश्न उठाउनै पाउँदैन । नेतृत्वबाट धम्की आउँछ । पार्टीभित्र प्रश्नै गर्न नपाउने पनि हुन्छ? स्रोतको अनुसार बन्दसूचीमा भएको अन्यायको विषयमा केन्द्रीय अनुशासन आयोगका निवेदन परेको छ । साथै केन्द्रीय समिति, सबै प्रदेश सभापति र केन्द्रीय निर्वाचन आयोगलाई बोधार्थ दिएको छ ।
‘उम्मेदवार छनोट प्रक्रियामा प्रमुखको भूमिकामा रहनुभएको व्यक्ति आफू उम्मेदवार भएपछि आफ्नो कामको जिम्मेवारी अन्य के सदस्य साथीहरूलाई हस्तान्तरण गरेको देखिएन । यसले निर्णय अधिकार आफूमा सीमित राखेको देखिन्छ । जुन गलत हो । हामी पाइलैपिच्छे गल्तीमाथि गल्ती गरिरहेका छौं, थाहा नभएर हो या आफू बाहेक अरुलाई मान्छे नदेखेर हो ? पदको दुरुपयोग भयो,’ ध्यानकर्षण पत्रमा भनिएको छ ।








