१० माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताउनु भएको छ । ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले सोकुरा बताउनु भएको हो । कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको उहाँको भनाई छ ।
उहाँले, गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेकाले अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताउनु भयो।
बैंक तथा वित्तीय संस्थाहरूले अरू निकायहरूको तुलनामा अहिलेसम्म राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उहााले औंल्याउनु भयो ।
फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता रहेको धारणा पनि राख्नु भयो ।
धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित, क्षमतामा आधारित, आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका लागि राष्ट्र बैंकसंग अर्थमन्त्रालयले छलफल गरिरहेको उहाँले जानकारी दिनु भयो ।









