काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैको ध्यान झापा क्षेत्र नं.५ तर्फ मोडिएको छ । यस क्षेत्रमा भावी प्रधानमन्त्रीका दाबेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भावी प्रधानमन्त्रीका अर्का दाबेदार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहबीच तीव्र प्रतिस्पर्धा भएकाले सबैको ध्यान झापा–५ मा मोडिएको हो ।
झापा–५ मा कांग्रेसबाट मधरा चिमरिया, नेकपाबाट रञ्जित तामाङ र राप्रपाबाट लक्ष्मी प्रसाद संग्रौला पनि दाबेदार छन् । ओलीलाई पुरानो बिरासतको मत आउने देखिन्छ भने बालेन शाहलाई युवा र नयाँ जोस भएकाको मत आउने आँकलन गरिएको छ । काठमाडौंमा राम्रोसँग जित्ने हुँदाहुँदै बालेन शाह किन ओलीसँग टक्कर लिन झापा पुगे यो पनि चासोको विषय बनेको छ । तर टक्कर त यी दुईबीच नै हुने भनिदैछ । तर यस क्षेत्रमा कांग्रेस, नेकपा र राप्रपाको समेत राम्रै जनमत रहेको छ । त्यसो त गत निर्वाचनमा राप्रपासँग तालमेल गर्दा त्यस क्षेत्रमा जित्न सहज भएको विश्लेषण गरिदैछ । यदि फेरी पनि एमाले र राप्रपा कतै तालमेल त हुँदैन यो पनि चासोको विषय बन्न पुगेको छ । त्यसो त २०६४ सालको पहिलो प्रतिनिधि सभा निर्वाचन बाहेक एमाले अध्यक्ष ओलीको चुनावी यात्रा जितको छ । उनले प्रतिस्पर्धा गरेको ७ वटा चुनावमध्ये ६ वटामा जित र एउटामा हारको रेकर्ड छ । पहिलो पटक ओलीले २०४८ सालमा झापा–६ बाट संसदीय चुनावी प्रतिस्पर्धा गरेका थिए । सो चुनावमा उनले नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीलाई पराजित गरेका थिए । ‘सेतो बाघ’ उपनामले चिनिने कांग्रेसका प्रभावशाली नेता बुढाथोकीलाई पराजित गरेसँगै चुलिएको ओलीको राजनीतिको प्रभाव आजपर्यन्त चर्चामै छ ।
ओलीले २०७४ र २०७९ सालमा कांग्रेस नेता डा.खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गरेका थिए । अझ २०७९ को चुनावमा अधिकारी विरुद्ध ओलीको निकै फराकिलो मत रह्यो । ओलीले ५२ हजार ३१९ मत ल्याउँदा अधिकारीको जम्मा २३ हजार ७४३ मत मात्रै आयो । त्यसबेला ओली २८ हजार ७४३ मतान्तरले विजयी भएका थिए । ओलीलाई हराएको रेकर्ड तत्कालिन नेकपा माओवादी उम्मेदवार विश्वदिप लिङ्देन सुरेशको नाममा छ । २०६४ सालको संविधानसभा निर्वाचनमा लिङ्देनले ओलीलाई पराजित गरेका थिए । लिङ्देन अहिले कांग्रेसको नेतृत्व तहमा क्रियाशील छन् ।
बारम्बार यस जिल्लाका विभिन्न क्षेत्रमा जित्दै आएका ओलीलाई यस पटक भने जित्नको लागि निकै चुनौती रहेको प्रारम्भिक विश्लेषण गरिन्छ । तथापी यसको भरपर्दो र विश्वसनीय आधार कोहीसँग पनि छैन । तर पछिल्लो माहोल र तथ्यका आधारमा ओलीको मुख्य प्रतिस्पर्धा बालेन देखिएका छन् । यसको आधार रास्वपाको आक्रमक चुनावी रणनीति हो । मुलुकको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरबाट राजिनामा दिएर बालेन ओलीसँग प्रतिस्पर्धा गर्न जानु अर्को कारण हो । यतिलाई मात्र आधार मान्न यस क्षेत्रका मतदाता तयार छैनन् । एमाले कार्यकर्ता अहिले पनि बालेनको जनमत जफत गर्ने भन्ने झुटो प्रचारमा पनि लागेको देखिन्छ । तर धरातलीय यथार्थ के छ भने झापा–५ मा मात्र होइन देशका जुनसुकै क्षेत्रबाट पनि बालेनले जित्ने अवस्था छ । उनको लोकप्रियता त्यति आकाशिएको छ । हिजो ओलीलाई जिताउँदै आएका मतदाता पनि यस पटक गुपचुप बालेनलाई जिताउने अभियानमा रहेको त्यहाँका एक मतदाताले बताए ।









