काठमाडौँ।राजधानीको कमलादीमा केन्द्रियकार्यलय स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको वित्तीय सस्था एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शान्ति सेवा गृह, तिलगंगा, काठमाडौँ मा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी ले झोला लगायत अन्य शैक्षिक सामग्री संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्की लाई हस्तान्तरण गरेका थिए।
गत फागुन २८ गते सम्पन्न उक्त कार्यक्रममा बैंकले विद्यार्थीहरूको अध्ययनलाई निरन्तरता दिन र उनीहरूको शैक्षिक स्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न तथा पिछडिएका वर्गका साथै शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको जानकारी दिएको छ।
यसअघि पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्नुका साथै सातै प्रदेशका विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने कार्य गरिसकेको छ।
शान्ति सेवा गृहमा रहेका विद्यार्थीहरूलाई प्रदान गरिएको यस शैक्षिक सामग्री सहयोगले उनीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने बैंकले जनाएको छ।









