चैते दशैंको महत्व

सम्पादकीय

चैते दशैं हरेक चैत्र महिनाको शुक्ल पक्षमा पर्ने गर्दछ । यो पर्व नेपालमा परम्परा र परिवर्तनको संगमका रुपमा मनाइने गरिन्छ । रामले रावणमाथि विजय प्राप्त गरेको खुशीयालीमा मनाइदै आइएको यो पर्व यस वर्ष चैत्र १४ गत् शनिबार परेको छ । यो पर्व पहिलादेखि नै चैत्र महिनामा नै मनाउँदै आइएको भए पनि पछिल्लो समय तत्कालिन शासकहरुले असोज महिनामा सारेको हुँदा चैत्रमा भन्दा असोजमा नै भव्य रुपमा मनाउने गरिन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि चैत्र महिनाभन्दा असोज महिना उत्तम मानिन्छ । चैत्रमा गर्मी हुने, खाना राम्रोसँग सुपाच्य नहुने, आलस्य हुने र असोज महिनामा न जाडो न गर्मी हुने र किसानहरु पनि वर्षा भरि काम गरेर थाकेको हुँदा दशैंमा खाइने मिठो मसिनोले स्वास्थ्यलाई पनि फाइदा हुने लगायतका कारणले असोज महिनामा दशैं सारिएको ऐतिहासिक भनाइ छ । अहिले हामीहरु असोज महिनामा जेजसरी दशैं मनाउने गर्दछौं, त्यसरी नै हाम्रा पिता पुर्खाहरुले चैत्रमा दशैं मनाउने गर्दथ्यो । त्यसैले असोजमा मनाइने दशैं र चैत्रमा मनाउने दशैं अलग अलगक हो कि भनेर भ्रममा पर्नु हुँदैन । असोज महिनामा सारिएको भए पनि चैत दशैैंकै रुपमा देवीदेवताको पूजाआरधाना गर्ने र पशुपंक्षिको बलि दिने गरिन्छ । तर समयको परिवर्तन भएसँगै बलिदिने प्रथामा पनि क्रमशः न्यूनता आउन थालेको छ । किनकी मानिसमा जनावरको पनि बाँच्न पाउने अधिकार हुन्छ भन्ने चेतना पलाउन थालेको छ । देवी र दुर्गाबाट आशिर्वाद पाउन जनावर मार्न उचित होइन भन्ने बुझाई विकसित हुँदै गएको छ ।
दशैं नेपालका हिन्दुहरुले मात्र नभई भारत, बंगलादेश, म्यानमार लगायत अन्य देशहरुमा पनि मनाउने गरेका छन् । चैत दशैं पुरानो वर्षको बिदाई र नयाँ वर्षको आगमनलाई स्वागत गर्दै मनाइन्छ । परिवार र साथीभाईहरु बीच एकता, मायाँ र सहकार्य बढाउने सामाजिक, सांस्कृतिक र परम्परागत मूल्यहरुको संरक्षण गर्न पनि दशैं मनाउने गरिन्छ । दशैंमा टाढाटाढाबाट आफ्ना मान्यजनको आशिर्वाद लिन, साथीभाइबीच भेटघाट गरी माया साटासाट गर्न र सद्भाव बढाउन आउने र दशैं सकिएपछि पुनः आफ्नो कर्म थलो फर्किने चलन रही आएको छ । खुशी साटासाट गर्ने, नयाँ लुगा लगाउने, मिठोमसिनो खाने, माइत मावल जाने, मान्यजनबाट टिका जमरा लगाउने दशैंका विशेषता हुन् । दशैं एक वर्षमा एक पटक आउने चाड भनेर सबैलाई थाहा भएको विषय हो । दशैंमा आफ्नो गच्छे अनुसार मात्र खर्च गर्ने बानी गर्नुपर्छ ।

LEAVE A REPLY