—भोजकुमारी खड्का
बालेन नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाको सरकार बनेको छ । यो सरकारबाट जनताले विश्वास र भरोसा खोजेका छन् । सरकारले जनताको विश्वास पात्र बन्न तत्काल ठूला ठूला काम गर्नु पर्दैन र आर्थिक अवस्थाका कारण सक्दैन पनि । सरकारले किसानका लाग समयमै बीऊ, मल र कृषि औजार अनि उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने बाटो, विद्यार्थीका लागि सस्तो र सुलभ मूल्यमा जीवनोपयोगी शिक्षा, युवालाई क्षमता अनुसारको रोजगारी, सीप र तालिम, श्रम गर्नेलाई सम्मानसहित श्रमको उचित मूल्य, दलितहरुका लागि जातीय भेदभावको अन्त्य र समानता गरी दिए सानो काम पनि ठूलो सरह हुने थियो । यस्ता साना काम नै नभएका बेला ठूला ठूला कामको कल्पना गर्नु अर्थहिन हुने छ । तर यस्ता कामका लागि नीति र व्यवहारमा भने तालमेल हुन जरुरी छ ।
विगतका सरकारले यस्ता काम तिर ध्यान नदिइ ठूलाठूला विकासको सपना देख्ने तर काम भने सानो पनि नगर्दा सरकारप्रति जनताको आशा र भरोसा टुट्दै गयो । यसैको परिणाम हो पुराना दलको पराजय र नयाँ दलको विजय । त्यसैले अब नयाँ दलले सबैभन्दा पहिले न्यूनतम र अत्यावश्यक काम गरेर जनताको मन जित्न आवश्यक छ । जनताको मन जित्ने काम गरे अर्को ५ वर्षे कार्यकालमा ठूला ठूला काम गर्ने अवसरका लागि तिनै जनताले पुनः सत्तामा पुर्याउन सक्छन् । त्यसैले अर्को कार्यकालमा सत्तामा पुगिन्छ कि पुगिदैन भनेर कमाउनेतर्फ लागेको खण्डमा पुराना दलको अहिलेको हालत भन्दा अझ खराब रास्वपाको नहोला भन्न सकिदैन ।
नेपाल कृषि प्रधान देश हो । कृषि उत्पादनका लागि सुहाउदिलो हावापानी नेपाल छ । तर सरकारले समयमै बीऊ, मल, सिँचाइलगायतका कृषिसँग सम्बन्धित वस्तुहरु जुटाउन नसक्दा उत्पादन घट्ने र सागको मुठामा समेत परनिर्भरता अपनाउदा दैनिक उपभोग्य वस्तु खरिदका लागि मात्रै वार्षिक खर्बौ रुपैया बाहिरिने गरेको छ । त्यसैले कृषिमा आत्मनिर्भरता मात्रै गराउन सक्दा पनि यति ठूलो रकम बाहिरिनबाट रोकिन्छ । अनि पो हुन्छ देशमा विकास ।
देशलाई आर्थिक विकास अपरिहार्य भएको छ । यसका लागि यहाँको जलविद्युत, खानी, पर्यटन व्यवसायलगायतका कुरामा विकास गर्ने हो भने देशको अवस्था सहयोगी मित्र राष्ट्रहरुबाट अनुदान, ऋण लिने मात्र होइन, ऋण तिरेर अनुदान दिन सक्ने ठाउँमा पुग्दछ । वकम्फुसे भाषण र काम भन्दा कुरा बढी गर्ने पूर्ववर्ती नेताहरुको बानीका कारण मुलुकले यस्तो अवस्था भोग्नु परिरहेको छ । त्यसैले वर्तमान सरकारले २५ प्रतिशत भाषण र ७५ प्रतिशत काम गरेर देखाउने प्रयत्न गरे देशमा विकास नहुने कल्पनै गर्न सकिदैन ।








