मातातीर्थको महिमा
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने ‘आमाको मुख हेर्ने’ पर्व मनाइन्छ । यस दिन आमा हुनेहरूले आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा–भक्तिसाथ आमाको मुख हेर्ने प्रचलन रहेको छ । त्यस्तै, आमा नहुनेहरूले काठमाडौंको पश्चिम क्षेत्रमा रहेको पवित्र कुण्ड मातातीर्थमा गएर आमाको नाममा श्रद्धाभक्ति जनाई पूजा–आराधना गर्ने पौराणिक प्रचलन अद्यावधिक रूपमा कायमै छ ।
शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
यस दिन छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाउने र मीठा–मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा–भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।
यस दिन काठमाडौंको पश्चिम भेग, चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेरै कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।
मातातीर्थका बारेमा एउटा पौराणिक कथा यस्तो छः
भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भयो ।
युद्धका कारण दुवै पक्ष आकुल– व्याकुल भए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो । ‘माता गङ्गासमो तीर्थ, पिता पुष्कर मे वचः’ भन्दै तीन पटक मन्त्रोच्चारण गरी जमीनमा बाण प्रहार गरेपछि बाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तिमा कोरिन पुग्यो ।
त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्डतर्फ मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ । तर घर फर्कने बेला गोठालोले एक्लै फर्किन नमानेर आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई, “हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औँसीका दिन यस तीर्थमा आउनू” भन्ने वाचा सहित सम्झाई– बुझाई फर्काइन् ।
त्यसैले पनि आमाको पवित्र स्थल भएकाले त्यस ठाउँको नाम मातातीर्थ रहेको हो ।






