प्रधान सेनापतिको कार्यभार अशोकराज सिग्देलको काँधमा

काठमाडौँ, आजदेखि प्रधान सेनापतिको कार्यभार अशोकराज सिग्देलको काँधमा पर्न आएको छ । हिजो बिहीबार प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार सुम्पिए पछि कार्यभार काँधमा पर्न आएको हो । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले आजदेखिसम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नुभएको हो ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसक्नुभएको छ । प्रधान सेनापति शर्मा तीन वर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाउनुभएको हो । कार्यभार बुझबुझारथ समारोहमा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रूपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गर्नुभयो ।

LEAVE A REPLY