षडानन्द नगरपालिकामा आँखा तथा कान उपचार केन्द्र सञ्चालन हुने

भोजपुर । कोशी प्रदेश अन्तरगत पर्ने भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाको केन्द्रीय भाग दिङ्लामा आँखा तथा कान उपचार केन्द्र सञ्चालन हुने भएको छ । लाहान आँखा तथा कान उपचार प्रणाली विराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिका बीच सम्झौता समेत भैसकेको नगरप्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । सम्झौता पछि पालिकास्तरमा आँखा उपचार केन्द्र खोल्ने बाटो खुलेको नगर प्रमुख उदासको भनाई छ । नेत्र ज्योति संघ भोजपुरको विशेष पहल र सहकार्यमा यो सम्भव भएको हो, नगरपालिकामा स्थापना हुने उपचार केन्द्रले षडानन्द र छिमेकी साल्यासिलिछो गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने नगर प्रमुख उदासको भनाई छ ।
षडानन्द नगरपालिकाभित्र आँखा तथा कान उपचार केन्द्र सञ्चालनका लागि विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ललित अग्रवाल र नगरप्रमुख उदासबीच भएको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
भोजपुर जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका छन् । भोजपुर नगरपालिकामा विगतदेखि हालसम्म नेपाल नेत्र ज्योति संघको पहलमा आँखा तथा कान उपचार केन्द्र सञ्चालन हुँदै आएको छ । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा पनि केही समय अगाडिबाट केन्द्र स्थापना भएको थियो । त्यस्तै भोजपुरको उत्तरमा अब केही समयपछि सो सेवा सञ्चालनमा आउँदैछ ।
भोजपुरको उत्तरी क्षेत्रमा अहिलेसम्म कान, आँखालगायतको सेवा प्रभावकारी नहुँदा छिमेकी जिल्ला संखुवासभा, धरान, विराटनगर, काठमाडौंलगायतका ठाउँहरुमा उपचारका लागि जानुपर्ने बाध्यता थियो ।

LEAVE A REPLY