परीक्षा नतिजाको त्रुटी छानविन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमविविएसर जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । केही दिन अघि बसेको सो समितिको बैठकले उक्त प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटी गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरुलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो ।
परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी
दिए । समितिले सो सम्बन्धमा तत्काल छानविन समिति गठन गरि १० दिनभित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सजग गराएको छ ।
‘आम नागरिकहरुको स्वास्थ्यसँग् जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भीर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धी एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यस पटक देखिएको कमजोरी के कारण भएको हो ? सो सम्बन्धमा १० दिनभित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरुको समेत विश्वास जित्ने गरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छनविन सम्बन्धी प्रतिवेदन समिति समक्ष पेश गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ ।’ समितिका निर्णयमा भनिएको छ ।
बैठकमा समितिका सदस्यहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको थिए । यसैक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भीर त्रुटी गरेको औल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता समितिसमक्ष गरेकी थिइन् ।

LEAVE A REPLY