गोपाल आचार्य
तिहार पर्व हिन्दुधर्मवालम्वीहरुको दशैंपछिको दोस्रो ठूलो चाड हो । यो चाड हरेक वर्ष शरद ऋतुमा आउने गर्दछ । शरद ऋतुमा सयपत्री, मखमली, गोदावरी लगायत विभिन्न जातका फूलहरु फुल्ने र ती फूलको बढी प्रयोग तिहारमै हुने गरेकोले तिहारलाई फूलैफूल अर्थात सयपत्री, फूलको पर्व पनि भनिन्छ ।
परापूर्वकालदेखि तिहार मानिदै आएको छ । तिहार पर्व खासगरी पाँच दिनसम्म मनाईन्छ । तिहारको पहिलो दिन ज्यादै चतुर पंछी कागको पूजा गरिन्छ । त्यस्तै तिहारको दोस्रो दिन ज्यादै इमान्दार र वफादार जनावर मानिने कुकुरको पूजा गरिन्छ । त्यस्तै तिहारको तेस्रो दिन बिहान राष्ट्रिय जनावरको रुपमा मानिदै आएको पशु गाईको पूजा र बेलुका धनकी खानी महालक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीको पूजा आरधना गर्दा धन दौलत बढ्ने विश्वास पनि
गरिन्छ । सोही दिन बेलुका महिला दिदीबहिनीहरुले भैलेनी खेल्छन् र खुशी साटासाट समेत गर्दछन् । त्यस्तै तिहारको चौथो अर्थात हलि तिहारका दिन शिवजीको बहानका रुपमा मानिद आएको जनावर गोरुको पूजा गरिन्छ । र सोही दिन पुरुष जातिले देउसी खेल्ने गर्दछन् । त्यस्तै तिहारको पाँचौं दिन यमराजको पूजा गरि दिदिबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाईदिने र दाजुभाइले, टीका लगाइदिने दिदीबहिनीलाई उपहारको रुपमा सामान दिने र गच्छे अनुसार दक्षिणा पनि दिने गर्दछन् । यसो गर्दा दाजुभाइ र दिदीबहिनीको टुट्नै लागेको सम्बन्धमा समेत प्रगाढता आउने विश्वास गरिन्छ । तिहारमा माथि उल्लेखित ५ वस्तुको पूजा गरिने भएकोले तिहारका पाँच दिनलाई यम पंचक पनि भनिन्छ ।
तिहारको यम पंचकमा जुवा, तास, ढाइसलगायतका मनोरञ्जनात्मक खेलहरु खेलिदै आएका छन् । जुवा, तास, परापूर्वकाल अर्थात देवताका पालादेखि नै खेलिदै आएको पौराणिक कथन् छ । पाण्डव र कौरवहरुले जुवा खेल्दा सर्वश्वहरण भएर वनवास जानु परेको कथा हामीले वेद पुराणमा सुन्दै आएका छौं । अहिले पनि जुवा तास खेल्ने परम्परा सम्झिँई अर्काको धनमा आँखा लगाउँदा आफ्नै धनसम्पत्ती उडेको र घरवारबिहीन भएर तड्पिनु परेका घटनाहरु सुनिने गरेका छन् । त्यसैले तिहारमा जुवा, तास खेल्ने र फजुल खर्च गर्ने बानी छोडौं । विकृतिबाट अलग रहौं । तिहारको शुभकामना १









