काठमाडौं । गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन र मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनमा केही जिल्लादेखि केन्द्रसम्मको मत परिणामले झस्किएको नेकपा एमाले पार्टीको संगठन सुदृढिकरण अभियानमा केन्द्रीत हुने भएको छ । उपनिर्वाचनमा कमजोर नतिजा आएपछि राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित ६ वटा संकल्प गरेको छ । मंसिर २९ र ३० गते राष्ट्रिय कार्यशालामार्फत संकल्प गरेको कार्यक्रमलाई कार्यान्वयनमा लैजान एमालेले सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । सचिवालयको बैठक आज ९ गते र केन्द्रीय कमिटि बैठक पौष २० र २१ गते बोलाउने तयारी भएको एमाले नेताहरुले बताएका छन् । केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटिको आठौं बैठक यही पौष भित्रै बस्ने छ । यसका लागि पौष १० र ११ गते सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा स्थानीय तहको उपनिर्वाचनमा आएको मतको समिक्षा र सरकारको कामको समिक्षा हुने प्रचार विभाग प्रमुख गौतमको भनाई छ ।
गतमंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न एमालेको प्रारम्भिक विश्लेषण छ । एमालेले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समिक्षा प्रतिवेदन माग गरेको छ । ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा आधाभन्दा बढी स्थानमा जित हासिल गर्ने अपेक्षा राखेको एमालेले ८ स्थानमा मात्रै विजयी प्राप्त गर्न सफल भएपछि एमाले झस्किनु स्वभाविकै हो । उसले आगामी निर्वाचन २०८४ मा पहिलो पार्टी बन्ने लक्ष्य राखेको छ ।
यसअघि एमालेले जितेका ७ वडामा उपनिर्वाचन हुँदा दैलेखको दुल्लु नगरपालिका १३ बाहेक कतै पनि जित जोगाउन सकेन । त्यस्तै दैलेखको महावु गाउपालिका अध्यक्ष एमाले जितेको थियो । यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकात्र्तिक खापर गाउँपालिकाको उपाध्यक्ष जितेको छ । पहिले जितेको स्थानहरुमा अहिले पराजय खेप्नुको कारण जनप्रतिनिधिहरुले नागरिकको चित्त बुझ्ने गरी काम गर्न नसकेको एमालेले विश्लेषण गरेको छ ।
एमालेले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेकोले आगामी माघदेखि चैत्रसम्म ३ महिने वडा केन्द्रीत कार्यक्रम अभियानका रुपमा संकल्प समेत गरेको छ । केन्द्रीय कमिटिको बैठकले ३ महिने वडा केन्द्रीत कार्यक्रमको मोडालिटी समेत तय गर्ने बताइएको छ । एमालेले राष्ट्रिय शक्ति निर्माणका लागि ‘मिसन ०८४’ भने पनि स्थानीय तहको उपनिर्वाचनमा प्राप्त नतिजाले राम्रो काम नगरेको र यसको असर तलैसम्म पर्न सक्ने भन्दै तलैदेखि पार्टी निर्माणको अभियान चलाउने निर्णय गरेको छ । २०८४ मा ठूलो पार्टी बन्न संघ, प्रदेश र स्थानीयस्तरका काम कारवाहीलाई जनतासँग जोड्ने र त्यसका लागि पार्टी संगठन सक्रिय बनाउने एमालेको रणनीति छ ।
एमालेसँग ७७ वटा भूगोल र चारवटा विशेष जिल्ला कमिटि
छन् । त्यस्तै एमालेले वार्षिक कार्ययोजना अनुसार काम भए नभएको बारे पनि केन्द्रीय कमिटिमा समिक्षा गर्ने भएको छ । यसका अतिरिक्त आगामी बैठकमा सरकारको कामको पनि मूल्यांकन हुने एमालेले जनाएको छ ।
यसैबीच एमालेले पुष १५ गतेभित्र कामको रिपोर्ट तयार गर्न पार्टीका सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार पार्न निर्देशन समेत दिएको छ । केन्द्रीय कमिटिको बैठक पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठकले विभागहरुको रिपोर्ट तयार गर्ने निर्देशन दिएका हुन् । बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने पनि निर्णय गरेको छ ।