नेपालको राजनीतिमा जो सुकैको नेतृत्वमा सरकार बनेपछि सरकार फेरिने हल्ला चलिरहन्छ । यो पटक पनि प्रधानमन्त्री फेरिन, केपी ओली प्रधानमन्त्रीबाट हट्ने भन्ने जस्ता हल्ला चलिरहेकै छ । यसको नेताहरुले प्रतिवादसमेत गरिरहेका छन् । गत असार १६ गते मध्यराती मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समझदारीसहित सात बुँदे सहमति भयो । सोही सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष केपी ओली असार ३१ गते चौथो कार्यकाल प्रधानमन्त्री नियुक्त भए तर सरकार गठन भएको २४ घण्टा बित्न नपाउँदै सरकार धेरै दिन नटिक्ने हल्ला सुरु भयो । त्यस यता यस्ता बहसहरु बारम्बार हुने गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले प्रधानमन्त्रीको शपथ दाहाल, प्रचण्डले ओलीले प्रधानमन्त्रीको शपथ नलिईदै यो सरकार धेरै टिक्दैन भन्ने भविष्यवाणी गरे । यस्तै भविष्यवाणी राजनीतिक विज्ञहरुको पनि रहेको थियो । त्यतिबेला जसरी सरकार फेरिने कुरा भए अहिले पनि त्यस्तै कुराहरु पर्दामा आएका छन् । सरकार फेरिने कुराहरु आएपछि ओलीले भनेका छन्– ‘राजनीतिक अन्यौल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको हो ।’ प्रचण्ड नेतृत्वको अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले कमिलाको आयु पुग्यो भने पखोटा पलाउँछ भनेझै एमाले र कांग्रेस जस्ता पार्टी हुँदाहुँदै कसकसका के के नाच चलेका छन् रु भनेर जनताले भन्न थालेपछि नयाँ सरकार गठन भएको स्पष्टिकरण दिँदै भने– ‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं । हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन् । यी पुराना दुई पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएका छन् ।’ यतिबेला जुन ढंगले प्रचार भए पनि ओली प्रधानमन्त्रीबाट हट्ने अर्को सरकार बन्ने कुनै आधार देखिदैन । तर कांग्रेस–एमालेबीच राजनीतिक दरार उत्पन्न भयो भने चाही वर्तमान सरकार एक दिनमै ढल्न सक्ने आँकलन गर्न मिल्छ ।
यसैगरी गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने दाबी गरेका छन् । कांग्रेस–एमाले गठबन्धनका सुत्राधारमध्येका एक गृहमन्त्री लेखकले भने– ‘यो सरकार कसैले कहीबाट कोसीस गरे पनि बदल्नेवाला छैन । यो सरकारलाई साउन कट्दैन भन्थे दशै, तिहार कट्दैन भन्थे, त्यो त पुरा भइसक्यो नि । प्रधानमन्त्री चीनबाट फर्किन त देउ भन्थे, अब भारत गएपछि फेरि यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहानाले ढल्दैन । अस्थिरता चाहानेहरुले सरकार परिवर्तनको हल्ला फैलाइरहेका छन् ।’
यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने दावी गरेका छन् । उनले भने– ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो । यो दुई दलले नचाहादासम्म कसैले चाहेर ढल्दैन । यथार्थ यही हो, नडराई ढुक्कले काम गर्नुहोस् । लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दलप्रति निराशा फैलाउने काम भइरहेको छ ।’








