काठमाडौं । राजनीति त्यति कसिलो प्रभाव पार्न नसके पनि पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी विभिन्न कारणले चर्चामा आइरहने गरेको छ । तर यस पटक बसेको सो पार्टीको स्थायी कमिटी बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी दिँदै हाललाई विवाद साम्य पारेको थियो । केही नेताहरुले जिम्मेवारी नपाएको भन्दै तीव्र असन्तुष्टी व्यक्त गरेका थिए ।
स्थायी कमिटि बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्नुका साथै विभिन्न विभागको प्रमुख तोकेको छ । नेकपा एसका सचिव सोमप्रसाद पाण्डेका अनुसार महाधिवेशन लगत्तै कार्यविभाजनबारे देखिएको अन्यौल अन्त भएको छ ।
नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्कुल विभागको जिम्मेवारी पाएका छन् । संगठन विभागको जिम्मेवारी वरिष्ठ नेता डा।वेदुराम भुषाललाई दिइएको छ भने प्रमेश हमालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । वरिष्ठ नेता घनेन्द्र बस्नेतले राजकीय मामला विभागको नेतृत्व पाउँदा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख भएका छन् । उपाध्यक्ष जगन्नाथ खतिवडा संघीय तथा प्रादेशिक मामला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्इक्ष जयन्ती राई अखिल नेपाल महिला संघ इन्चार्ज र उपाध्यक्ष भानुभक्त जोशी सुदुरपश्चिम इन्चार्ज भएका छन् । उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधर बागमती इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरी लुम्बिनी इन्चार्ज, उपमहासचिव राजेन्द्र राई कोशी इन्चार्ज र सचिव चन्द्रबहादुर शाही कर्णाली इन्चार्ज र सचिव श्रीनाथ बराल गण्डकी इन्चार्ज भएका छन् । एकीकृत समाजवादीले महासचिव घनश्याम भुषाललाई अनुगमन विभागको प्रमुख बनाइएको छ । भुषालले संगठन विभाग प्रमुखमा रुचि राखे पनि अध्यक्ष नेपालले संगठनको नेतृत्व पूर्व महासचिव बेदुराम भुषाललाई दिए । यसैगरी उपमहासचिव रामकुमार भट्टराईले कार्यालय सचिवको जिम्मेवारी दिइएको छ भने उपमहासचिव रामकुमार भट्टराईले कार्यालय सचिवको जिम्मेवारी पाए भने उपमहासचिव गरिमा शाहले संसदीय इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको जिम्मेवारी लक्ष्मण केही र विद्यार्थी विभागको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ ।








