काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन हुन करिब एक वर्ष बाँकी रहेको भए पनि नेता शेखर कोइराला सभापति बन्ने दौडमा सक्रिय रहनुभएको छ । उहाँले दिनदिनै विभिन्न जिल्लाका नेताहरु भेटिरहनु भएको छ । स्मरण रहोस्, नेता कोइरालाले गत चौधौ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका थिए । अब १० प्रतिशतभन्दा माथि मत ल्याए सहजै सभापति पद जित्न सकिन्छ भन्ने आँकलन छ । कांग्रेसको सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउन जरुरी हुन्छ । कोइरालाको जारी अभियान आगामी महाधिवेशनमा ५० प्रतिशतभन्दा बढी समर्थन जुटाउनकै लागि हो । धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, बलबहादुर केसी लगायतका नेताहरुको समर्थनमा विगतमा उम्मेदवार बनेका कोइराला समर्थनको दायरा बढाउन
चाहान्छन् । सभापति देउवा अब उम्मेदवार नरहने हुँदा देउवा निकट अन्य नेताहरुलाई आफ्नो टिममा ल्याउने कोइरालाको कसरत जारी देखिन्छ । आफ्नो टिमलाई यथावत जोगाउने चुनौती भने नेता कोइरालालाई छ । महामन्त्री गगन थापाले सभापतिमा आफै उम्मेदवारी दिने चर्चाबीच कोइरालाले आफ्नो सक्रियता बढाएको बुझिन्छ । कोइराला र थापाबीच नयाँ सरकार गठनयता राजनीतिक संवाद हुन सकेको देखिदैन । महामन्त्री थापा सभापति देउवाको टिमबाट उम्मेदवार बन्ने प्रयासमा छन् ।
कोइरालानिकट नेताहरु अघिल्लो महाधिवेशनको मतले सभापति बन्न नपुग्ने र महामन्त्रीले टिम छाड्दा हुनसक्ने क्षति पनि कभर गर्नुपर्ने भएकाले कोइरालाको सक्रियता अझ बढेको दावी गर्छन् । त्यसो त देउवा टिममा प्रभावशाली मानिनुभएका सहमहामन्त्री भिष्मराज आङ्देम्बे, बालकृष्ण खाँड, एनपी साउद, मोहन बस्नेत लगायतका नेताहरुले आगामी महाधिवेशनमा नेता कोइरालालाई सहयोग गर्ने संकेत गरेका छन् । तर गगन थापालाई सभापतिमा देउवाले सघाए भने कांग्रेसको भावी नेतृत्व चयन रोचक बन्ने देखिन्छ ।








