सहिदको सम्मान मूर्ति र फोटो पूजाले हुँदैन

भोली माघ १६ अर्थात सहिद दिवस । यस दिन सहिदको मूर्ति र फोटाहरुमा फूलमाला र अविरले पूजा गरी सहिदको सम्मान गरिदैछ । जहानिया राणाशासनको विरोधमा लाग्दा गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र दशरथचन्दलगायतको मृत्यु राणाहरुले गराएका थिए । त्यसैबेलादेखि सहिदको सम्झनामा हरेक वर्षको माघ १६ गते सहिदको सम्मान गरिदै आएको छ । तर यसरी पूजा गरेर सहिदहरुको आत्माले शान्ति पाउँदैन । सहिदको साँच्चै सम्मान गर्ने हो भने उनीहरुको अधुरो सपना साकार पार्नुपर्छ । यसका लागि उनीहरुले हिडेको मार्ग पहिल्याउँदै हिड्ने र त्यो मार्ग हिड्नुको उद्देश्यलाई आत्मसात गर्दे उद्देश्य पुरा गर्नेतर्फ लाग्नुलाई चाहि सहिदको सहि सम्मान भएको मानिन्छ । तर अहिलेसम्म त्यसो गरेको पाइदैन । सहिदको सम्मान अविर र मालामै सिमित छ ।
पछिल्लो समय पञ्चायती शासनको विरुद्धमा लाग्ने र व्यवस्था परिवर्तन गर्ने योद्धाहरुलाई पनि सहिद घोषणा त गरियो । तर सम्मान भने अघिल्ला सहिदहरुलाई जति पनि छैन । एकातिर सहिदको वान्छनीय सम्मान भएको छैन भने अर्कातिर सहिद हुन लायक नभएकालाई पनि हुलमुलमा सहिद घोषणा गरिदा वास्तविक सहिदको अपमान भइरहेको छ । यसले गर्दा आम सर्वसाधारणलार्य सहिदको परिभाषा बुझ्न गाह्रो भएको महसुस गर्न सकिन्छ । २०३६ सालदेखि २०४६ साल हुँदै २०६२÷०६३ को आन्दोलन सफल हुँदा हजारौंको काखा रित्तो भएको छ । हजारौंको सिदुर पुछिएको छ तर उनीहरुको आत्माले शान्ति पाएको छैन । अझ भन्नुपर्दा सहिद हुनेका परिवारलाई नै थाहा छैन आफ्नो सन्तान सहिद भएको । आन्दोलनका क्रममा राज्यका तर्फबाट र आन्दोलनकारी तर्फबाट मारिएका हजारौंको पहिचान गरी सहिद घोषणा र सम्मान गर्नु त परकै कुरा उनीहरुको अवस्था नै अज्ञात छ ।
२०६२÷०६३ को आन्दोलन समाप्त भए पश्चात प्राय सबै ठूलासाना राजनीतिक दलहरुले सरकारको नेतृत्व गरिसके तर कसैले पनि आजसम्म बेपत्ताको अवस्था सार्वजनिक गर्न सकेको छैन । जो विडम्बनापूर्ण छ । हत्यारा पत्ता लागेर पनि राजनीतिक आडमा कारवाही गर्न सकिएको छैन । त्यसैले अब मूर्ति पूजा होइन, सहिदको बाटो हिडौं । अधुरो सपनालाई पुरा गरौं । यसैमा छ सहिदको सम्मान ।

LEAVE A REPLY