शिक्षक आन्दोलनले नयाँ विद्यार्थी भर्ना र कक्षा १२ को परीक्षा समेत प्रभावीत

काठमाडौं ,शिक्षक आन्दोलनका कारण नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षा प्रभाAवीत भएको छ । सरकारले वैशाख १ गतेदेखि यस वर्षको नयाँ भर्ना अभियान र कक्षा १२ को बैशाख १२ गते देखी देशभर सुरू हुने परीक्षा प्रभावीत भएका हुन् । देशभरका अधिकांश बिद्यालयहरुले सरकारले शिक्षकहरुको माग पुरा नगरेको भन्दै
अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको जनाएका छन् ।
विद्यालयहरुले जारी गरेको सूचनामा भनिएको छ,‘नेपाल शिक्षक महासंघद्वारा विगतका सम्झौता कार्यान्वयन गर्दै नयाँ शिक्षा ऐन लागू गर्ने मागका साथ गरिएको शैक्षिक आम हड्तालका कारण हालका लागि विद्यालयका पूर्व निर्धारित विद्यार्थी भर्ना लगायत सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ, यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।’

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिलेको आन्दोलन कारण अधिकांश सामुदायिक विद्यालयमा भर्ना अभियान रोकिएको जानकारी दिए। त्यसो त कलिला बालबालिकाहरूको पढ्न,सिक्न पाउने अधिकारप्रति सबैले सम्मान गर्न उनले आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘कलिला स्कुले विद्यार्थीहरूको पढ्न सिक्न पाउने अधिकारप्रति सबैले सम्मान गरौं।’
सरकार र शिक्षक कर्मचारी दुवैका कारण लाखौँ बालबालिकाहरूको पढ्न पाउने अधिकारबाट बन्चित भएको भन्दै तत्काल राज्यले यसको समाधान गर्नुपर्ने उनले माग गरे।
शिक्षा मन्त्री विद्या भट्टराई पनि शिक्षकको माग सम्बोधन गर्नेगरि संसद अधिवेशन आव्हान गरिएको जानकारी दिएकी छिन्। उनले एक भिडियो सन्देशबाट भनेकी छिन्,‘करिब १५ दिनदेखि शिक्षकहरू सडकमा आन्दोलन गर्दै हुनुहुन्छ,हिजो मात्रै बसेको मन्त्रिपरिषद बैठकले शिक्षकको माग सम्बोधन गर्ने गरि छिटो शिक्षा विधेयक जारी गर्ने निर्णय गरेको छ,मन्त्रालय शिक्षकसँग निरन्तर संवादमा छ,मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा छौँ।’
देशभरका शिक्षक कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। हिजो बसेको मन्त्रिपरिषद बैठकले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गर्दै शिक्षकहरूलाई विद्यालयमा फर्कन आग्रह गरेको थियो।
तर,शिक्षकहरूले आज पनि आन्दोलन कायमै राखेका छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक जारी गरेर मात्रै आन्दोलन रोक्ने बताएका छन्। पहिला भएका सहमतिसहित शिक्षा ऐन जारी नहुन्जेलसम्म यो आन्दोलन कायम रहने उनले बताउँदै आएका छन्।

LEAVE A REPLY