वरिष्ठ सर्जक गणेश रसिकले ७८ वर्षको उमेरमा महाप्रस्थान गर्नु भएको छ। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको जेठ १८ गते बिहान ११ बजे निधन भएको संगीतकार बुलु मुकारुङले जानकारी दिए।
मुकारुङका अनुसार रसिककी छोरीसोमबार बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिनेछ। भोजपुर छिनामखुमा २००४ असोज ४ मा जन्मिएका रसिक ५०को दशकमा इलाम झरेका थिए। करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, संगीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाएका थिए।
उनका सारंगीभित्र कथासंग्रह, गणेश रसिकका गीतहरू, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडेलगायतका कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ। हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए स्त्केरी लाई ख्वाएँ जस्ता राष्ट्रिय कालजयी लोकगीत गाएका थिए। उनका केही रचना विद्यालयका पाठ्यपुस्तकमा समावेश छन्।
साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए।









