काठमाडौं । सरकारले यही श्रावण २१ गतेसम्म विद्यालय शिक्षा विधेयक पारित नगरे शिक्षक महासंघले विगतकोभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । विद्यालय शिक्षा विधेयकमा भएको ढिलाईप्रति असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएको हो । महासंघले आन्दोलनको स्वरुप र कार्यक्रमहरु भनेपछि मात्रै सार्वजनिक गर्ने बताएको छ । महासंघले विगतमा सरकारसँग भएका सबै सहमति समेटिएको विद्यालय शिक्षा ऐन २०७५, २०७८, २०८०, २०८१ र २०८२ का आन्दोलनपछि पनि कार्यान्वयन नहुनु अत्यन्त दुःखद् रहेको बताएको छ ।
‘सरकारले असार १५ भित्र शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गर्ने प्रतिबद्धता जनाएसँगै करिब १ महिनासम्म चलेको शिक्षक आन्दोलन वैशाख १७ गते रोको थियो तर अहिलेसम्म विधेयक प्रतिनिधि सभाको शिक्षा समितिमा अड्किएर बसेको छ । शिक्षा विद्हरु पनि विधेयक पारित हुँदैन, भए पनि खारेज हुने बताइरहेका छन् । शिक्षाको उत्थान गर्न भन्दै ल्याउन लागिएको शिक्षा विधेयक अहिलेको अवस्थामा प्रतिनिधि सभामा पेश हुने अवस्थामा पनि देखिएको छैन ।’ एक शिक्षकले भने ।
सरकारसँग भएको सहमति अनुसार अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया स्थायी शिक्षकको बढुवा, विभागीय कारवाही, विद्यालय कर्मचारीको व्यवस्थापन, इसिडिका शिक्षकहरुको व्यवस्थापन, ट्रेड युनियन अधिकार लगायत विषयमा यतिबेला षड्यन्त्र भइरहेको शिक्षकहरुले दाबी गरेका छन् । कार्यक्रममा शिक्षक महासंघले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय विद्यालय शिक्षा, शिक्षक तथा कर्मचारीको हकहितको संरक्षण र प्रवद्र्धनका पक्षमा निरन्तर क्रियाशील रहेको जनाएको छ ।








