महानगर प्रमुख चिरीबाबु महर्जनद्वारा बिषादी परिक्षण केन्द्रको उद्घाटन

ललितपुर महानगर वडा नं.३ कार्यालयले हालै बिषादी परिक्षण केन्द्र सञ्चालनमाल्याएको छ ।
आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण गर्नका लागि वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ‘हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो।।
परिक्षण केन्द्रको उद्घाटन गर्नुहुँदै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासीहरु रोगी हुँदा समस्या सृजना हुने भन्दै यसकालागि यो बिषादी परिक्षण केन्द्र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो “नगरवासीहरु रोगी हुँदा यहाँको उत्पादकत्व र जीवनशैलीमा प्रभाव पर्छ, यहाँका नागरिकहरु रोगी भएभने यो महानगर स्मार्ट सिटी हुनसक्दैन, महानगरवासी निरोगी हुँदा मात्रै समृद्ध र सुखी महानगर कायम रहनसक्छ।”
उहाँले देशका ६ हजार ७ सय ४३ वडाहरुमध्येमा ललितपुर महानगरको वडा नं. ३ ले उत्कृष्ट काम गरेको भन्ने कुरा निर्विवाद छ भन्दै यो वडा महानगरको २९ वडा मध्ये सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा पनि भएको बताउनुभयो।
” म नगरप्रमुख भएको ८ बर्षभन्दा बढि भइसकेको छ, हामीले ८ वर्षभित्र सम्पदा क्षेत्र र पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौँ, समयसापेक्ष आउने नयाँ परियोजनालाई पनि ध्यान दिएर सञ्चालन गर्नेछौं, महानगरलाई स्मार्ट सिटी बनाउन धेरै काम गरिरहेका छौँ, ललितपुर महानगरले देशका २ सय ९३ वटा नगरपालिका मध्ये उत्कृष्ट काम गरेको छ।” उहाँले भन्नुभयो।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडाका हरेक क्रियाकलापमा आफू निकट रहेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेर वडावासीलाई उत्साह भर्ने काम वडाले गरिरहेको धारणा राख्नुभयो। उहाँले काठमाडौंको प्रदुषित वातावरणको असरले विभिन्न किसिममा रोगहरुले मानिसलाई सताइरहेको अवस्थामा वडा कार्यालयले सराहनीय काम गरेको बताउनुभयो। अध्यक्ष शर्माले वालवालिकालाई नैतिक शिक्षाको ज्ञान दिलाउँदै उनीहरूले प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्न सिकाउँदै संस्कृति र सम्पदालाई जगेर्ना गर्न सिकाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।
ललितपुर महानगरपालिका वडा नं.३ का अध्यक्ष श्रीगोपाल महर्जनले वडावासीले प्रयोग गर्ने हरेक खाद्य सामाग्रीमा भएको विषादीले मानिसलाई रोगी बनाएको भन्दै तरकारी र खाद्य पदार्थमा बिषादी भएनभएको परीक्षण गरेर मात्रै उपयोग गर्नका लागि बिषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले वडाभित्र व्यापार गर्ने तरकारीमा बिषादीको परीक्षण गरेर अत्याधिक बिषादी भएको पाइएमा कानून अनुसार कारवाही गर्ने बताउनुभयो।
बिषादी प्रयोगका कारण मानिसहरु प्राणघातक तथा दीर्घ रोगबाट पीडित हुनुपरेको र मानव जीवनको दैनिकीमा समेत नकारात्मक प्रभाव रोक्नका लागि यो परिक्षण केन्द्र प्रभावकारी हुने जनाइएको छ।
वडा नं.३ ले सञ्चालन गरेको हाम्रो घरभित्र वडा व्यवसायिक तालिम केन्द्र, वडाका महिला समूहद्वारा निर्मित सामग्री विक्री केन्द्र, वडा स्वास्थ्य केन्द्र,योग कक्ष सञ्चालनमा रहेको छ।

LEAVE A REPLY