काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीस खरेलले पहिलो महिला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पहिलोमहिला पूर्व प्रधान न्याधिश तथा प्रधानमन्त्री सुशीला कार्कीबीच सिंहदरबारमा आइतबार भएको भेटवार्ता ऐतिहासिक भएको भन्दै बार्तामा आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी प्रमुख विषय बनेको बताउनु भयो ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सिंहदरबारको अवलोकन गरेपछि पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेकी थिइन्। भेटमा निर्वाचनको वातावरण, राजनीतिक स्थिरता तथा समसामयिक घटनाक्रमबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटपछि पूर्वराष्ट्रपति भण्डारीले फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन व्यवस्थित, निस्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न सरकारले उत्तम तयारी गर्नुपर्ने सुझाव दिएको बताइन्। प्रधानमन्त्री कार्कीले आन्दोलनपछिको अस्थिर परिस्थितिमा नेतृत्व सम्हाल्नुपरेको उल्लेख गर्दै सरकार छानबिनदेखि सुशासनसम्मका सबै कार्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रतिक्रिया दिइन्।
उनले पूर्वराष्ट्रपति भण्डारीसँग निर्वाचनको वातावरण निर्माणमा सहयोगी भूमिका खेलिदिन आग्रह गरेको पनि सचिवालयले जानकारी दिएको छ। भेटपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन तयारीका कामबारे जानकारी दिएको बताए। पूर्वराष्ट्रपति भण्डारीले हालको अन्तरिम सरकारद्वारा गरिएको कार्यलाई सकारात्मक रूपमा लिएको र आगामी निर्वाचनलाई सफल बनाउनेतर्फ ध्यान दिन सुझाव दिएको खरेलले बताए।
नेपालका पहिलो प्रधानन्यायाधीश बनेकी सुशीला कार्की र पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको यो भेट ऐतिहासिक भएको टिप्पणी पनि मन्त्री खरेलले गरे।








