काठमाडौं । विशेष महाधिवेशन बाट उदाएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा एक्लै चुनाव लड्दै कसैसँग अप्राकृतिक चुनावी गठबन्धन र सत्ता केन्द्रीत सम्झौता नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगबाट मान्यता पाएपछि पहिलो पटक बैठक बसेको कांग्रेस केन्द्रीय समिति थापा नेतृत्वको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टी एकताको पक्षमा उभिन र शेरबहादुर देउवाप्रति आभार व्यक्त गर्दै पार्टीको अभिभावकमा बसिदिन आग्रह गर्ने लगायतका चुनौतीहरु सामना गर्न सकिने निष्कर्ष पनि निकालेको छ । बैठकमा पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनका लागि समय निकै छोटो भएकोले तत्कालै संसदीय बोर्डको बैठक बस्ने निर्णय गरेको बताउनुभयो । बैठकले विभिन्न कारणले निष्क्रिय बसेका र पार्टी छोडेका नेता, कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले बताउनुभयो । चालिसेले आगामी फागुन २१ गतेको निर्वाचनमा आफुलाई सरिक गर्नका लागि सबै पार्टी पंक्तिलाई सक्रियताका साथ लाग्न अपिल गरेको पनि सुनाउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षक बनिदिन समेत आग्रह गर्नु भएको छ । कांग्रेसलाई एकताबद्ध गर्न आफुले देउवा र शेखर कोइरालाको सहयोगको अपेक्षा राखेको स्पष्ट पार्दै गगन थापाले भन्नुभयो ‘निवर्तमान सभापतिबाट अभिभावकको र पार्टी संरक्षकको भूमिकाको अपेक्षा गरेको छु । उहाँले आह्वान गरेर भनिदिनुपर्छ अब सकियो एक ठाउँमा आउनु भनेर । सभापति थापाले अब विशेष महाधिवेशनको डोब बाँकी नरहेको र अब कांग्रेस एक ढिक्का भएको समेत दाबी गर्दै भन्नुभयो ‘कांग्रेस विशेष महाधिवेशन विधान सम्मत भएनकी भन्ने र कानूनी परिक्षण गर्ने कुरा स्वभाविक थियो । हामी पनि आयोग गएको हो । आयोगले निर्णय गरिसकेपछि सबैले स्वीकार गरेर एकैठाउँमा बसेर निर्णय गर्न कठिनाई छैन ।’
त्यस्तै कांग्रेसको पहिलो बैठकले शेरबहादुर देउवालाई चुनावको मुखमा अदालत गएर पार्टीलाई संकटमा नपार्ने विश्वास समेत गरेको छ । यता वैधानिकता पाएको गगन थापा नेतृत्वको बैठकले यस्तो निर्णय गर्दा उता देउवा र खड्का समर्थक कांग्रेसहरुले पार्टी कार्यालयमा अदालत जाने निर्णय गरीरहँदा कांग्रेसका मध्यस्तकर्ता रहेका शेखर कोइरालाले सानेपा पार्टी कार्यालयमा पुगेर कांग्रेस फेरि मिल्छ भन्दै यसका लागि पार्टीभित्रको विवाह संवादहरु बाट समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।
यसैबीच विशेष महाधिवेशन अवैध भन्दै आएको देउवा समुह सामु २ विकल्प रहेका छन् । जसमा पहिलो विकल्प गगनको नेतृत्व स्वीकार गर्दै पार्टी एक ढिक्का बनाई निर्वाचनमा जाने रहेको छ भने दोस्रो विकल्पको रुपमा आसन्न निर्वाचन त्याग गरी ५ वर्ष संसद बाहिरै रहने देउवा अदालत गए तत्काल सर्वोच्चले फैसला नगर्ने र ५ वर्षसम्म संसद बाहिरै बस्नुपर्ने बाध्यता छ । आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चले पनि मान्यता दिएमा कांग्रेसमा विवादै समाप्त हुने भएको र सर्वोच्चले देउवा नेतृत्वलाई मान्यता दिँदा कांग्रेस स्वतह फुट्ने र चुनाव चिन्ह दिने प्रक्रिया पुरा गर्न २ महिनाभन्दा बढी लाग्दा निर्वाचन मिति नै सार्नुपर्ने हुँदा सर्वोच्चले यो निकट घडीमा मुद्दा फैसला नगर्ने निर्णयलिन पनि सक्छ । त्यसैले कांग्रेसभित्र मिल्नु नै सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।








